काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बुटवलबाट पुनः कास्कीको पोखरा ल्याइएको छ।
रविलाई भैरहवाबाट बुद्ध एयरको विमानमार्फत आज दिउँसो पोखरा ल्याइएको हो। बिहानै ७ बजेर ४५ मिनेटको बुद्ध एयरको विमानबाट कास्की लगिने तयारी भए पनि भिजिबिलिटी कम हुँदा साढे १ बजे मात्र फ्लाइट भएको हो।
उनलाई पोखरा विमानस्थलबाट सोझै स्वास्थ्य परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। लामिछानेलाई खासै स्वास्थ्य समस्या नदेखिए पनि प्रहरीले रीत पुर्याउन अस्पताल लगेको हो। त्यस लगत्तै उनलाई कास्की प्रहरीको हिरासतमा राखिनेछ।
बुटवलको सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा बयानका लागि रविलाई मङ्गलवार कास्की प्रहरीको हिरासतबाट बुटवल ल्याइएको थियो। रविसँग जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा ३ दिन बयान लिइएको थियो। उनीसँगको बयान बिहीबार राति सकिएको थियो।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लामिछानेले ऋण लगी रकम अपचलन गरेको अभियोगमा रुपन्देहीमा बयान लिइएको हो।


































