काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा हेर्दाहेर्दैमा रहेको उक्त मुद्दामा आज पूर्व डीआईजी जोशीका वकिलहरू आफ्नो पक्षमा बहस गर्दैछन्। जोशीको तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, सतीशकृष्ण खरेल, अधिवक्ता अपूर्व खतिवडा लगायतले बहस गर्ने तयारी गरेका छन्।
यसअघि मंगलबार लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, सुरेन्द्र थापा, मेघराज पोखरेल, अधिवक्ता नारायणदत्त कँडेल, जितेन्द्र झा, राजेन्द्र सेढाइँ, सुदिक्य पन्त लगायतले बहस प्रस्तुत गरेका थिए। छविलाल जोशी पक्षको बहस सकिएपछि सरकारी वकिलको तर्फबाट प्रतिवाद हुनेछ। त्यसपछि जवाफी बहस (रिजोइन्डर) पूरा भएपछि मात्र अदालतले अन्तिम आदेश सुनाउनेछ।
यसअघि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते लामिछानेलाई सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। उक्त आदेश न्यायाधीशहरू रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासबाट आएको थियो।
जिल्ला अदालत रूपन्देहीले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। सो आदेश बदर गर्न माग गर्दै सरकारी पक्षले उच्च अदालतमा पुनरावलोकन गरेको थियो, जसपछि लामिछानेलाई थुनामा पठाउने आदेश आएको हो।






































