काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति तथा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई विभिन्न बहानामा अमानवीय तथा अपमानजनक व्यवहार गरिएको भन्दै अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी तथा मानवअधिकारवादी सङ्घ–संस्थाहरूको गम्भीर ध्यानाकर्षण गराएको छ ।
यस्तै लामीछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकिलको कार्यालयमा बयान गराई राति सुतिरहेको बेलामा अचानक उठाई मध्यरातमा चितवनबाट पोखरा र्पुयाइको घटनाप्रति पनि रास्वपाले आपत्ति जनाएको छ । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै सभापति लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति आपत्ति प्रकट गरेको जनाएका छन् ।
‘सरकारको यो कदम राज्य संयन्त्रको दुरुपयोग गरी एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमानजनक तथा गैर न्यायिक चाल हो । यसैबिच सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको छ‚’ विज्ञप्तमा लेखिएको छ‚ ‘हामी यसको घोर भत्र्सना गर्दछौँ । सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन गरेको छ । यो निर्मम कदमको औचित्य राज्यले पुष्टि गर्नुपर्नेछ । यसतर्फ राष्ट्रिय मानवअधिकार आयोग एवं सम्पूर्ण राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी तथा मानवअधिकारवादी सङ्घ संस्थाहरूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ ।’
पार्टीले सभापति लामिछाने कसुरदार नभई एक आरोपित मात्र भएको भन्दै लामिछानेले सरकारको कानुनी प्रक्रियामा साथ दिएर उनले नागरिक कर्तव्य निर्वाह गरिरहेको पनि उल्लेख गरेको छ ।
‘अनुसन्धानमा साथ दिइरहेको एक लोकप्रिय जनप्रतिनिधिलाई अपराधी जस्तो गरी प्रचार गरिनुका साथै सोही स्तरको व्यवहार हुनु नेपालको संविधानको धारा १८, धारा २२ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा १६७ एवम् यातना र अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजाय विरुद्धको महासन्धि, १९८४ विपरीत समेत रहेको तर्फ सम्बन्धित सबैलाई सचेत गराउँछौँ ।
यस्तै रास्वपाले घटनाका दोषीमाथि उल्लिखित कानुनी प्रावधान बमोजिम कारबाही गर्न समेत माग गरेको छ । साथै पार्टीले राज्यको न्यायिक पद्धति, कानुनी शासन र लोकतान्त्रिक अधिकारको रक्षार्थ सक्रिय रहन सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा अपिल समेत गरेको छ ।




































