काठमाडौँ। चालु आर्थिक वर्षको १० महिनाको वित्तीय विवरण अनुसार मुलुकसँग विदेशी मुद्रा सञ्चिति रकम २५ खर्ब रुपैयाँ नाघेको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको वित्तीय विवरणअनुसार वैशाख मसान्तसम्म २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चित भएको छ । गत असार मसान्तसम्मको तुलनामा वैशाखसम्म आउँदा मुद्रा सञ्चिति रकम २३.१ प्रतिशतले बढेको छ।
वैशाख मसान्तसम्म अमेरिकी डलरमा यस्तो सञ्चिति रकम १८ अर्ब ४० करोड डलर बराबर रहेको राष्ट्र बैंकले जनाएको छ। अमेरिकी डलरमा सञ्चिति असार मसान्तसम्मको तुलनामा २०।५ प्रतिशतले बढेको हो ।
आर्थिक वर्ष २०८१/८२ को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७।४ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ।
कुल सञ्चिति रकममध्ये राष्ट्र बैंकमा २२ खर्ब ११ अर्ब ११ करोड छ भने बैंक तथा वित्तीय संस्थासँग ३ खर्ब १ अर्ब ८३ करोड रुपैयाँ बराबरको छ। कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.२ प्रतिशत रहेको छ ।


































