काठमाडौं । देवयानी इन्टरनेशनल नेपाल प्रा. लि.ले पहिलो विशेष केएफसी रेष्टुरेन्ट सञ्चालनमा ल्याएको छ । यस रेष्टुरेन्टमा काम गर्ने अधिकांश सदस्यहरू विशेष क्षमता भएका व्यक्ति छन् ।
देवयानी इन्टरनेशनल र केएफसी नेपालले यस्ता रेस्टुरेन्टहरू अझै थप गर्ने बताउँदै शनिबार पहिलो रेष्टुरेन्ट कलंकीमा सञ्चालनमा ल्याएको हो । अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस (सेप्टेम्बर २३)को अवसर पारेर यो रेष्टुरेन्ट सञ्चालन गरेको कम्पनीले जनाएको छ।
केएफसी इन्डिया र नेपालका सीईओ रजत लुथराले बोल्ने र श्रवणशक्ति नभएका महिलाहरूद्वारा सञ्चालित पहिलो केएफसी रेस्टुरेन्ट खोल्ने पहल देवयानी इन्टरनेशनलको लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए । उनले लेप्रोसी मिसन नेपालको समर्थनले यो विशेष टोली संयोजन गर्न सकिएको बताए ।
“यो एक संस्थाको रूपमा देवयानी इन्टरनेशनल नेपाल को लागि महत्त्वपूर्ण उपलब्धि हो र हामीलाई विश्वास छ विविधता र समावेशीताले हाम्रो समुदायलाई समान बनाउन मद्दत गर्दछ । यो विशेष टोलीका साथ हामीले स्वीकृति र मान्यताको लोकाचारलाई बढावा दिने लक्ष्य राख्छौं ।” सीईओ लुथराले भने , “ हामी लेप्रोसी मिसन नेपालप्रति आभारी छौं जसको समर्थनले हामीले यो विशेष टोली संयोजन गर्न र वहाँहरूसँग काम गर्ने मौका पाएका छौँ ।”
साथै सीईओ लुथराले बोल्ने र सुन्ने क्षमता नभएका व्यक्तिहरूका लागि रोजगारीका अवसरहरू विस्तार गर्ने र आगामी वर्षहरूमा त्यस्ता रेस्टुरेन्टहरू थप्दै जाने वाचा समेत गरेका छन्।
केएफसी एक विश्वव्यापी चिकन रेस्टुरेन्ट ब्रान्ड हो जसको सफलता र नवप्रवर्तनको समृद्ध, दशक लामो इतिहास छ । यो सबै एक कुक, कर्नल हार्ल्यान्ड स्यान्डर्सबाट सुरु भएको थियो, जसले ८० वर्ष भन्दा बढी पहिले रेसिपी बनाएका थिए र हामी आज पनि १४५ देशमा २६,००० रेस्टुरेन्ट स्यान्डर्सकै रेसिपीको पालना गरिरहेका देख्न सक्दछौ।
लेप्रोसी मिसन नेपाल
बेलायत मा स्थापित, लेप्रोसी मिसन नेपाल एक अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था हो । कुष्ठरोगबाट ग्रस्त भएकाहरूको लागि काम गर्नु उनीहरूको मुख्य प्राथमिकता हो । निष्पक्षता प्रवर्द्धन गर्न र विकास प्रक्रियामा अपाङ्गता र कुष्ठरोगीहरूको सहभागिता प्रवर्द्धन गर्न स्वास्थ्य, क्षमता निर्माण, शिक्षा, दिगो जीविकोपार्जन र सामुदायिक विकासका क्षेत्रमा हस्तक्षेपहरू सिर्जना गर्छन् ।


































