काठमाडौं । शिखर इन्स्योरेन्सले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिको यथासक्य छिटो बीमा दाबी भुक्तानी दिने प्रतिबद्धता जनाएको छ।
कम्पनीले जारी गरेको सूचनामा भनिएको छ, “भदौ २३ र २४ गते भएको क्षति र हानि–नोक्सानीको बीमालेखबमोजिम सरल र छरितो तरिकाबाट यथाशक्य दाबी भुक्तानीका लागि कम्पनी प्रतिबद्ध छ।”
नेपाल बीमा प्राधिकरणबाट जारी हुने निर्देशिका र निर्देशनको अधीनमा रही बीमा दाबी प्रक्रियाका लागि कम्पनीले सम्पर्क व्यक्तिको नाम र ई–मेल ठेगाना सार्वजनिक गरेको छ। दाबीसम्बन्धी जानकारी, कागजात तथा विवरण उपलब्ध गराई सो सम्पर्कमार्फत दाबी भुक्तानी लिन कम्पनीले आग्रह गरेको छ।
सूचनामा उल्लेख छ कि देशको विषम परिस्थितिमा राष्ट्र पुनर्निर्माण र आर्थिक समृद्धिमा सहयात्री बन्ने उद्देश्यसहित कम्पनी सबल र सुमन्नत मुलुक निर्माणमा प्रतिबद्ध रहेको छ। साथै, कम्पनीले यस विषम परिस्थितिमा दिवंगत सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति धैर्य र साहसको कामना गरेको छ।






































