काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्की अदालतमा दायर सहकारी ठगी प्रकरण मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुने भएको छ। अदालतमा आज गोला प्रथापछि न्यायाधीशको बेन्च तय हुने भएको छ ।
उक्त बेन्चले सुनुवाइ सकिएपछि लामिछाने लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ । सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, पूर्व डिआइजी छविलाल जोशीसहित ४४ जनालाई सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर आइतबार मुद्दा दर्ता गरेको छ।
लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता गरिएको छ । पाँच जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ। लामिछानेविरुद्ध भने तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।
प्रहरीको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा लामछिानेसहति ४४ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको हो। लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ र सहकारी ठगीतर्फ तीन करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले जनाएको छ।
यसैबिच अदालतमा मुद्दा दर्ता भएसँगै लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले रविविरुद्ध मुद्दा दर्ता भएको जानकारी संघीय संसद् सचिवालयलाई गराइसकेको छ। पत्र प्राप्त भएको र सभामुख देवराज घिमिरेले आज सूचना टाँस गरेर रवि निलम्बनमा परेको जानकारी गराउनसक्ने संसद् सचिवालयले भनाई छ ।



































