काठमाडौं । सानिमा जिआाईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण आइतबार प्रकाशित गरेको छ । कम्पनीले प्रकाशित गरेको विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन ३.३९ प्रतिशतले बढेर ११ करोड १९ लाख रुपैयाँको खुद बीमा शुल्क आर्जन गरेको छ।
यस अवधिमा जेन जी आन्दोलन तथा बेमौसमी वर्षाको कारण भएको क्षतिको ठुलो दावी भुक्तानीको कारण खुद नाफा २० करोड दुई लाख रुपैयाँले ऋणात्मक रहेको छ ।
यस अवधिमा कम्पनीको कुल बीमा दावी भुक्तानी १२४ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले तीन महिनामा ३३ करोड ७६ लाख रुपैयाँको कुल बीमा दावी भुक्तानी गरेको छ ।
समिक्षा अवधिमा कम्पनीको लगानी तथा ब्याज आम्दानी पनि ४५ प्रतिशतले घट्न पुगेको छ ।यस अवधिमा कम्पनीको सो आम्दानी दुई लाख ९० हजार रुपैयाँमा सीमित बनेको छ । साथै, २१ करोड ७३ लाख रुपैयाँ कुल आम्दानी रहेको कम्पनीको ४१ करोड ७५ लाख रुपैयाँ कुल खर्च रहेको छ ।
२ अर्ब १५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको बीमा कोषमा पाँच अर्ब ३२ करोड १८ लाख रुपैयाँ सञ्चिती रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी पनि ३७ रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको जगेडा कोषमा १ करोड ९४ लाख रुपैयाँ ऋणात्मक छ भने महाविपत्ती कोषमा चार करोड ५४ लाख रुपैयाँ सञ्चिती रहेको छ ।





































