काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले राजधानीको बूढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा ‘क्लब अचिभर्स इभेन्ट २०८२’ सम्पन्न गरेको छ। देशभरका शाखा तथा उपशाखामा कार्यरत रहँदै क्लब योजनामा सहभागी हुन सफल बीमा सल्लाहकारहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा कम्पनीका अध्यक्ष रतनलाल केडिया, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे लगायत उच्च व्यवस्थापन टोलीको उपस्थित रह्यो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केडियाले कम्पनीप्रति देखाइएको विश्वास र व्यवसाय वृद्धिमा पुर्याइएको योगदानबापत क्लब सदस्य बीमा सल्लाहकारहरूलाई धन्यवाद ज्ञापन गरे। प्रमुख कार्यकारी अधिकृत पाण्डेले बीमा सल्लाहकारहरूलाई कम्पनीको मेरुदण्डका रूपमा उल्लेख गर्दै प्रोत्साहनका कार्यक्रमहरू आगामी दिनमा निरन्तर ल्याइने बताए।
कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ को अभिकर्ता प्रोत्साहन योजना अन्तर्गत गोधूली क्लब, पृथ्वी क्लब, अग्नी क्लब, आकाश क्लब र ग्यालेक्सी क्लबका योजना प्रस्तुत गरिएका थिए। तोकिएको लक्ष्य हासिल गरेका बीमा सल्लाहकारहरूले क्लब सदस्यता प्राप्त गर्दै कार्यक्रममा सम्मान पाए।
नेपाल टेलिभिजनकी बरिष्ठ समाचार सम्पादक शिवानी थापा बस्न्यातले सञ्चालन गरेको कार्यक्रममा गायिका समीक्षा अधिकारी र हास्य कलाकार सुन्दर खनालले प्रस्तुतिहरू दिए भने नृत्य कार्यक्रमले थप रौनकता भरेको थियो।





































