काठमाडौँ । नेपालका सुनचाँदी व्यवसायीहरूको संरक्षण गरी कर प्रणाली चुस्त बनाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा आज बसेको अर्थ समितिको बैठकले उद्योगी व्यवसायीहरूको संरक्षण गर्न र कर प्रणाली चुस्त बनाउन सरकारलाई निर्देशन दिएको हो । समितिको तर्फबाट निर्देशन दिँदै समिति सभापति सन्तोष चालिसेले अरू देशमा बजार नजाने गरी यहाँका उद्योगी व्यवसायीहरूको संरक्षण गर्ने गरी यसलाई सम्पूर्ण शुद्धीकरण गर्नुपर्ने बताए ।
उद्योगी व्यवसायी बाँकी रहे मात्रै कर उठ्ने भन्दै उहाँले उद्योगी व्यवसायीहरूको संरक्षण गर्ने किसिमको नीति आवश्यक रहेको बताए ।
समितिमा आज आर्थिक विधेयकमार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासङ्घले दिएको निवेदन र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा आन्तरिक छलफल भएको हो ।































