काठमाडौँ। बीमा क्षेत्रमै पहिलो पटक सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीले ‘सूर्यज्योती केयर्स डिजिटल कार्ड र ई–कर्जा सेवा शुभारम्भ गरेको छ । कम्पनीले बीमा क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै यो सेवा शुभारम्भ गरेको जनाएको छ ।
सोमबार (आज) ललितपुरको होटल हिमालयनमा आयोजित विशेष कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा, कार्यकारी निर्देशक सुशील देव सुवेदी, कम्पनीका अध्यक्ष केशव भट्टराई र प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले संयुक्त रूपमा नयाँ सेवाहरूको शुभारम्भ गरेका हुन्।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले बीमित र बीमा अभिकर्ताहरूका लागि यो सेवा शुभारम्भ गरेको बताए।
कम्पनीका अनुसार बीमित र अभिकर्ताहरूले रेष्टुरेन्ट, अस्पताल, जिम सेन्टर, पार्लर, लगायत विभिन्न ४२ वटा निकायमा सेवा प्राप्त गर्न सक्नेछन्। साथै, सीईओ खत्रीले बीमा क्षेत्रलाई सर्वसुलभ, प्रभावकारी र डिजिटल बनाउने उद्देश्यले यस्ता नवप्रवर्तन अघि ल्याइएको बताए।
त्यस्तै कम्पनीले ल्याएको ‘इ–कर्जा’ सेवाबाट बीमितहरुले सहज ढंगबाटै कर्जा माग गर्न सक्ने उनले बताए । बीमितहरुले अब अनलाइनमार्फत नै रु ५० हजार अर्थात् पोलिसी रकमको ९० प्रतिशत सम्म कर्जा लिन सकिने कम्पनीले जनाएको छ ।






































