काठमाडौँ । जीवन बिमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८१र८२ मा सेयर बजारमा गरेको लगानी उल्लेखनीय रूपमा बढेको छ।
नेपाल बिमा प्राधिकरणको तथ्यांक अनुसार १३ वटा जीवन बिमा कम्पनीहरूले सेयर बजारमा ५९.५८ प्रतिशतले लगानी बढाउँदै ३० अर्ब ५२ करोड रुपैयाँ पुर्याएका छन्। अघिल्लो आर्थिक वर्ष २०८०र८१ मा उनीहरूको लगानी १९ अर्ब १२ करोड रुपैयाँ मात्र थियो।
त्यस्तै, बिमा कम्पनीहरूले आफ्नो कुल लगानीको ठुलो हिस्सा परम्परागत रूपमा बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने गरेका छन्। तर हालै बैंकिङ प्रणालीमा तरलता बढ्दा मुद्दती निक्षेपको ब्याजदर लगातार घटेको कारण बिमा कम्पनीहरूले वैकल्पिक अवसरका रूपमा सेयर बजार रोजेका हुन्।
नेपाल बिमा प्राधिकरणको लगानी निर्देशिकाअनुसार, बिमा कम्पनीहरूले आफ्नो कुल लगानीयोग्य रकमको १० प्रतिशतसम्म सेयर बजारमा लगानी गर्न पाउने प्रावधान छ। नेपालमा १४ वटा जीवन बिमा कम्पनीमध्ये १३ वटा कम्पनीले यो सीमा भित्र रहेर सेयर बजारमा लगानी बढाएका छन्।
तर, मेट लाइफले भने अहिलेसम्म सेयर बजारमा कुनै लगानी गरेको छैन। प्राधिकरणको तथ्यांक अनुसार सेयर बजारमा सबैभन्दा बढी लगानी गर्ने जीवन बिमा कम्पनी हिमालयन लाइफ इन्स्योरेन्स रहेको छ। यस कम्पनीले १० अर्ब ८५ करोड रुपैयाँ लगानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९१ दशमलव ७१ प्रतिशतले बढी हो।
दोस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। त्यसपछि क्रमशः सूर्य ज्योति लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल), सन नेपाल लाइफ, रिलायवल नेपाल लाइफ, नेसनल लाइफ, सिटिजन लाइफ, आईएमई लाइफ, प्रभु महालक्ष्मी लाइफ रहेका छन्।

साथै, लगानी वृद्धि प्रतिशतका आधारमा सबैभन्दा अगाडि सिटिजन लाइफ इन्स्योरेन्स रहेको छ। यस कम्पनीले अघिल्लो वर्ष २९ करोड ४६ लाख रुपैयाँ मात्रै लगानी गरेकोमा चालु वर्षमा ३ सय ३९.४१ प्रतिशत वृद्धि गर्दै १ अर्ब २९ करोड ४३ लाख रुपैयाँ पुर्याएको हो।
त्यस्तै, सन नेपाल लाइफ, नेसनल लाइफ, र सूर्य ज्योति लाइफले पनि सेयर बजारमा लगानी १ सय प्रतिशतभन्दा बढीले बढाएका छन्। आईएमई लाइफले ८४.१२ प्रतिशत, प्रभु महालक्ष्मी लाइफले ४९.५५ प्रतिशत, सानिमा रिलायन्स लाइफले ४६.४८ प्रतिशत, नेपाल लाइफले ४२.१ प्रतिशत, रिलायवल नेपाल लाइफले ४२.७ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेसनले २८.६२ प्रतिशत र एसियन लाइफले ४.२७ प्रतिशतले सेयर बजारमा लगानी बढाएका छन्।
राष्ट्रिय बीमा संस्थानले अघिल्लो वर्ष २ अर्ब १५ करोड ९५ लाख रुपैयाँ लगानी गरेकोमा चालु वर्षमा लगानी घटाएर ५४ करोड ६३ लाख रुपैयाँमा सीमित गरेको छ, जसले यसको सेयर बजारमा लगानी झन्डै ७५ प्रतिशतले घटेको देखाउँछ।





































