काठमाडौँ । नबिल बैंकको 'नबिल सस्टेनेबल बैंकिङ' अभियान पाँचौं वर्षमा प्रवेश गरेको छ। चौथो वार्षिकोत्सवका अवसरमा बैंकले असार १५ देखि २१ गतेसम्म ‘नबिल ग्रीन विक’ आयोजना गर्ने जनाएको छ। यो साताव्यापी कार्यक्रममा वातावरण, समाज र शासनसँग सम्बन्धित विविध विषयमा छलफल हुने बताइएको छ।
नबिल ग्रीन विकअन्तर्गत आयोजना हुने वेबिनार शृंखलामा नबिल बैंकका प्रतिनिधिसहित जीआईजेड नेपाल, सिम्पल इनर्जी प्रालि, बीवाईडी, सिजी मोटर्सलगायत संस्थाका प्रतिनिधि सहभागी हुनेछन् । कार्यक्रमको उद्देश्य सोलार रुफटप समाधान, विद्युतीय सवारी साधन, दिगो कृषि, वातावरण, समाज र सुशासनमा लगानीका विषयमा जानकारी आदानप्रदान गर्नु रहेको छ।
बैंकले वातावरण, समाज र सुशासनसँग सम्बन्धित सिद्धान्तलाई अंगिकार गर्दै कारोबार गर्दै आएको जनाएको छ। यस अन्तर्गत कार्बन फुटप्रिन्ट घटाउने, उत्तरदायी लगानी प्रवर्द्धन गर्ने र वित्तीय साक्षरता विस्तारमा प्राथमिकता दिइएको उल्लेख छ। बैंकको दाबी अनुसार दिगो विकासका सन्दर्भमा आर्थिक वृद्धिसँगै दीर्घकालीन सामाजिक र वातावरणीय मूल्य सृजनामा समेत ध्यान दिइएको छ।
नबिल बैंकले पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सिङको मापदण्डअनुसार नवीकरणीय ऊर्जामा लगानीमार्फत ११ हजार १७२ टन हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणमा योगदान दिएको जनाएको छ। बैंकले २१ जिल्लाका ३७ नदीमा सञ्चालनमा रहेका ३ हजार ७० मेगावाट क्षमताका ४३ जलविद्युत् परियोजनामा लगानी गरेको छ।
साना तथा मझौला व्यवसायतर्फ, विशेषतः कृषि, विद्युतीय सवारी र महिला नेतृत्वमा आधारित उद्यममा लगानी गरी ४६ हजारभन्दा बढी लाभग्राहीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ पुगेको जनाइएको छ । बैंकको तथ्याङ्क अनुसार गत आर्थिक वर्षसम्म कृषि क्षेत्रमा ४५.३८ अर्ब, जलविद्युत् तथा ऊर्जामा ३१ अर्ब र साना उद्योगतर्फ २५.०१ अर्ब रुपैयाँ लगानी भइसकेको छ।
बैंकले विद्युतीय सवारी कर्जामा ४२.३६ प्रतिशत लगानी गरेको छ भने संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ५ करोड ४३ लाख रुपैयाँ खर्च गरेको छ। हाल बैंकका १३ शाखामा नवीकरणीय ऊर्जा प्रणाली जडान गरिएको र डिजिटल बैंकिङ प्रवर्द्धनसहित १६ लाखभन्दा बढी ‘एनबैंक’ प्रयोगकर्ता रहेका बैंकले जनाएको छ। वित्तीय साक्षरताका लागि सात हजार ५९० जनालाई तालिम प्रदान गरिएको छ।
‘वुमन इन मोसन’, ‘यू म्याटर योर भ्वाइस म्याटर’, ‘नबिल ग्रीन विक’, ‘घर त नेपाल’ र ‘दिगो पाइला’ जस्ता अभियानमार्फत बैंकले विभिन्न सरोकार समूहलाई लक्षित कार्य गर्दै आएको छ। ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ कार्यक्रममार्फत हालसम्म ९०१ प्रशिक्षार्थीले तालिम लिएका छन् भने १३३ जनाले उद्यम सुरु गरी करिब १२०० जनालाई रोजगारी सिर्जना गरेका छन्।
बैंकले वैदेशिक रोजगारीबाट फर्किएकाहरूका लागि ‘नबिल स्किल्ड माइग्रेन्ट इन्टरप्रेनरसिप कर्जा’, ‘नबिल दिगो बचत खाता’, ‘नबिल किसान कर्जा’ र ‘नबिल उद्यमशील कर्जा’ जस्ता उत्पादन सञ्चालनमा ल्याएको छ। साथै, नवीकरणीय ऊर्जा, पानी संरक्षण, फोहोर व्यवस्थापन र ऊर्जा उत्पादन परियोजनामा समेत लगानी गरिएको छ। केन्द्रीय कार्यालयमा वर्षा पानी संकलन प्रणालीमार्फत वार्षिक दुई लाख ६२ हजार लिटर पानी संकलन भइरहेको छ।
सन् २०२१ मा नबिल बैंक पीसीएफ को सदस्य बनेपछि शाखारहित बैंकिङको विस्तारलाई प्रमुख उपलब्धि मानिएको छ । सस्टेनेबल बैंकिङको अवधारणा बैंकले २०७८ सालको असार १५ गते धान दिवसकै अवसर पारी औपचारिक रूपमा सुरु गरेको हो।
हाल बैंकले देशभर २६८ शाखा र ३२० एटिएममार्फत २४ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। नबिल बैंक निजी क्षेत्रको एक अग्रणी बैंक हो, जसले नवीन सेवा विकास र सामाजिक उत्तरदायित्वमा जोड दिँदै आएको छ।






































