काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिट भिसा प्रकरणमा लाखौँ रुपैयाँ असुलीमा संलग्न बिचौलिया खेमप्रसाद सुवेदीलाई विशेष अदालतले २ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ।
विशेष अदालतका न्यायाधीश त्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सुवेदीलाई अदालतमा उपस्थित हुने सुनिश्चितता पेश गरी धरौटीमा रिहा गर्ने आदेश सुनाएको हो। सुवेदीले अदालतमा उपस्थित भई निवेदन पनि पेश गरेका थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख तीर्थराज भट्टराईको संलग्नतामा भिजिट भिसा व्यवसायमार्फत भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण गरेको आरोपमा सुवेदी विरुद्ध मुद्दा दायर गरेको थियो। गत २५ मङ्सिर, आयोगले भट्टराईसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
सुवेदीमाथि भट्टराईले घुसबापत प्राप्त गरेको रकम लुकाउन र वैध बनाउन सहयोग गर्दै सम्पत्ति शुद्धीकरणमा हात हालेको आरोप लागेको हो। अनुसन्धानको क्रममा, सुवेदीले भक्तपुर दधिकोटस्थित जग्गा भट्टराईसँग सम्बन्धित कविता पौडेलको नाममा पास गराइ अवैध रकम लगानी गरेको तथ्य पाइएको छ।
सुवेदी विरुद्ध ७९ लाख ८० हजार रुपैयाँको बिगो र सम्पत्ति शुद्धीकरण सम्बन्धी १ करोड ३ लाख ७९ हजार ६ सय रुपैयाँको बिगो कायम गरी सजाय माग गरिएको छ।


































