काठमाडौँ । नेपाल र चीनबीच चिनियाँ पर्यटकहरूलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने उद्देश्यसहित सन् २०२५ लाई चीनमा ‘नेपाल भ्रमण वर्ष’ घोषणा गर्ने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा यस्ताे सहमति भएको हाे ।
त्यस्तै दुई देशीय व्यापार, पारवहन तथा कूटनीतिक सहमतिसँगै पर्यटन प्रवर्द्धनका कार्यक्रमहरूमा समेत सम्झौता भएका छन् । नेपालको पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक आदान प्रदान गर्ने गरी दुई देशबीच भाषा, संस्कृतिको आदानप्रदान गर्नुका साथै नेपालमा चिनियाँ पर्यटक भित्र्याउन सहकार्य गर्ने समेतको सहमति भएका छन् ।
चिनियाँ पर्यटकहरूलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने उद्देश्यसहित सन् २०२५ लाई चीनमा ‘नेपाल भ्रमण वर्ष’ घोषणा गर्ने सहमतिसमेत दुई देशबीच भएको छ ।
त्यस्तै, चिनियाँ पक्षले ८औँ ‘चाइना साउथ एसिया फ्रेन्डसीप अर्गनाइजेशन’ फोरममा मित्र राष्ट्रको रूपमा भाग लिन समेत नेपाललाई आग्रह गरेको छ ।
नेपाल–चीन दुई देशका विभिन्न सहरहरूबिच भगिनी सहरको सम्बन्ध स्थापना गर्ने र दुई देशबिचको जनता–जनताको सम्पर्कलाई गहिरो बनाउने सहमति समेत भएको छ ।
त्यस्तै, प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा संस्कृति आदान प्रदानका क्रममा विश्वकै दुर्लभ एक सिङ्गे गैँडा नेपालकातर्फबाट चिनियाँ पक्षलाई उपहार स्वरूप प्रदान गर्ने सहमति समेत भएका छन् ।































