काठमाडौँ । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ समूह चरणको अन्तिम चरणतिर पुगेको छ। अब नकआउट चरणमा पुग्ने टोलीहरूको टुंगो लाग्ने क्रम तीव्र बन्दै गएको छ।
पहिलोपटक ४८ राष्ट्र सहभागी यस संस्करणमा ‘राउन्ड अफ ३२’ समावेश गरिएको छ, जुन जुन २८ देखि जुलाई ३ सम्म सञ्चालन हुनेछ। प्रत्येक समूहका शीर्ष दुई टोली सीधै अघिल्लो चरणमा पुग्नेछन् भने तेस्रो स्थानमा रहेका टोलीमध्ये उत्कृष्ट आठ टोलीले पनि स्थान बनाउने व्यवस्था छ।
नकआउट यात्रा राउन्ड अफ ३२ बाट सुरु भई राउन्ड अफ १६, क्वाटरफाइनल, सेमिफाइनल हुँदै जुलाई १९ मा हुने फाइनल खेलसम्म पुग्नेछ। यस संस्करणमा अंक बराबरी भएका टोलीबीच निर्णय गर्दा हेड–टु–हेड नतिजालाई पहिलो आधार बनाउने नयाँ नियम लागू गरिएको छ।
हालसम्म केही टोलीहरूले अन्तिम ३२ मा स्थान सुरक्षित गरिसकेका छन्। सह–आयोजक मेक्सिको दक्षिण कोरियामाथि जित निकाल्दै समूह ए को विजेता बनेर अघिल्लो चरणमा पुगेको हो। अमेरिका पनि अष्ट्रेलियामाथि स्पष्ट जितसहित अगाडि बढेको छ।
जर्मनीले आइभरी कोस्टलाई हराउँदै आफ्नो स्थान पक्का गरेको छ भने साविक विजेता अर्जेन्टिनाले कप्तान लियोनल मेसीको उत्कृष्ट प्रदर्शनमा अस्ट्रियामाथि जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको छ। फ्रान्सले किलियन एम्बाप्पेको उत्कृष्ट खेलमा इराकलाई पराजित गर्दै अघिल्लो चरण सुनिश्चित गरेको छ। नर्वेले पनि लामो अन्तरालपछि विश्वकपमा फर्किँदै राम्रो प्रदर्शनसहित अन्तिम ३२ मा स्थान बनाएको छ।
यता, केही टोलीहरूको यात्रा भने समूह चरणमै टुंगिएको छ। ब्राजिलसँग हार बेहोरेपछि हाइटी बाहिरिएको छ भने टर्की र ट्युनिसियाले पनि निराशाजनक प्रदर्शनपछि प्रतियोगिता छाडेका छन्।
विश्वकपको समूह चरण जुन २७ सम्म चल्नेछ। त्यसपछि नकआउट चरण सुरु भई फाइनल खेल जुलाई १९ मा आयोजना गरिने तालिका छ।





































