विराटनगर । विराटनगरमा पिजफायर रेस्टुरेन्ट सञ्चालन गर्दै आएका ५१ वर्षीय मनोज खत्री मोरङको केराबारीस्थित जंगलमा मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार खत्री शनिबार अपराह्न केराबारी गाउँपालिकास्थित धारापानी जंगलमा रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
विराटनगर महानगरपालिका–३ निवासी खत्रीको शव पोस्टमार्टमका लागि धरान पठाइएको प्रहरीले जनाएको छ । उनी कहिलेकाहीँ केराबारी क्षेत्रमा जाने गरेको खुले पनि मृत्युको कारण भने खुल्न बाँकी रहेको डिएसपी मिश्रले बताए ।
शव फेला पर्दा परिवारका सदस्य भारतमा रहेको र आफन्तले शनिबार राति शवको पहिचान गरेको प्रहरीले जनाएको छ ।
लामो समय विदेशमा रोजगारी गरेर स्वदेश फर्किएका खत्रीले विराटनगरको सेन्ट्रल मलबाट पिजफायर रेस्टुरेन्ट सुरु गरेका थिए । त्यसपछि उनले काठमाडौं र मोरङको विराटचोकमा पनि शाखा विस्तार गरेका थिए ।
पछिल्लो समय उनी विराटनगरको पिपल चोक र गोल्छा चोकमा पिजफायर रेस्टुरेन्ट सञ्चालन गर्दै आएका थिए । विराटनगरमा आधुनिक पिज्जा संस्कृतिको सुरुवात र विस्तारमा खत्रीको योगदान रहेको स्थानीय व्यवसायीहरू बताउँछन् ।





































