धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाउँदै संशोधनको माग गरेको छ। धनगढीमा बसेको बैठकले बजेटमा सहमति र साझा नीति–कार्यक्रमको पालना नभएको आरोप लगाएको हो।
एमालेले बजेट निर्माण प्रक्रियामा गठबन्धन सरकारभित्रको सहमति बेवास्ता गर्दै एकलौटी ढंगले विनियोजन गरिएको दाबी गरेको छ। आवश्यक सुधार नभए संयुक्त सरकारमा निरन्तरता दिन नसकिने चेतावनीसमेत बैठकले दिएको छ।
बैठकले बजेट संशोधनका लागि संसदीय दललाई आवश्यक निर्देशन दिने निर्णय गरेको छ। साथै, संघीय बजेटमा सुदूरपश्चिम र विपन्न वर्गलाई उपेक्षा गरिएको भन्दै असन्तुष्टि पनि व्यक्त गरिएको छ।
त्यस्तै, सुस्तामा भारतीय सीमा सुरक्षा बलले सीमा स्तम्भ क्षति पुर्याएको घटनाप्रति आपत्ति जनाउँदै कूटनीतिक पहलमार्फत भारत सरकारसँग औपचारिक नोट पठाउन सरकारलाई आग्रह गरिएको छ।
प्रधानमन्त्रीको संसद्मा दिएको अभिव्यक्तिप्रति पनि बैठकले आपत्ति जनाउँदै संसद् रेकर्डबाट हटाउनुपर्ने माग गरेको छ। किसानलाई लक्षित गर्दै मलको सहज आपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरिएको छ।
एमाले प्रदेश कमिटीका अनुसार बैठकले सरकारका केही मन्त्रीका अभिव्यक्ति र संवैधानिक निकायमाथिको टिप्पणीप्रति पनि गम्भीर आपत्ति जनाउँदै लोकतान्त्रिक मर्यादा पालना गर्न सरकारलाई सचेत गराएको छ।





































