काठमाडौँ । बैंक तथा वित्तीय संस्थालाई अग्राधिकार शेयर जारी गर्नका लागि नेपाल राष्ट्र बैंकले बाटो खुला गरेको छ। केन्द्रीय बैंकको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाहरूले अग्राधिकार शेयर जारी गर्न पाउने व्यवस्थालाई थप गरेको हो।
राष्ट्र बैंकले एकीकृत निर्देशिकामा संशोधन गर्दै प्राथमिक पुँजी कोषको ५ प्रतिशत भन्दा कम सञ्चित नोक्सानीमा भएका बैंकहरुले अविमोच्य अग्राधिकार शेयर (पर्पेच्युअल नन्क्युमुलेटिभ अग्राधिकार सेयर) जारी गर्न पाउने व्यवस्था गरेको हो।
क्यापिटल एडुकेसी फ्रेम वर्क २०१५ मा बैंकहरूले जोखिम भारित सम्पत्तिको १.५ प्रतिशतसम्म यस्तो उपकरणमार्फत अग्राधिकार सेयर जारी गर्न सक्ने व्यवस्था रहेकोमा सोही व्यवस्थालाई राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको हो।
यी हुन केन्द्रीय बैंकले तोकेका सर्तहरू:
१) अविमोच्य असञ्चिति अग्राधिकार शेयरको भुक्तानी अवधि तोकी निष्काशन गर्न पाइने छैन।
२) अविमोच्य असञ्चिति अग्राधिकार शेयर संस्थागत लगानीकर्ताले मात्र धारण गर्ने सुनिश्चित हुने गरी जारी गर्नुपर्नेछ।
३) अविमोच्य असञ्चिति अग्राधिकार शेयर इजाजतपत्रप्राप्त संस्था स्वयंले निष्काशन गर्नुपर्नेछ। साथै यस्तो शेयर पूर्ण रूपमा चुक्ता भएको हुनुपर्नेछ।
४) अविमोच्य असञ्चिति अग्राधिकार शेयर कुनै पनि सुरक्षण नराखी निष्काशन गर्नुपर्नेछ।
५) अविमोच्य असञ्चिति अग्राधिकार शेयरमा लाभांश वितरण गर्ने वा नगर्ने सम्बन्धी निर्णय गर्ने सम्पूर्ण अधिकार सम्बन्धित इजाजतपत्रप्राप्त संस्थामा निहित हुनेछ र यससम्बन्धी व्यवस्था इजाजत पत्रप्राप्त संस्थाले विवरण पत्रमा स्पष्ट रूपमा खुलाउनुपर्नेछ। साथै, यस्तो शेयरमा प्रदान गर्ने लाभांश दर समेत विवरण पत्रमा स्पष्ट रूपमा खुलाउनुपर्नेछ।
६) अविमोच्य असञ्चिति अग्राधिकार शेयरको लाभांश वितरण नाफा नोक्सान बाँडफाँड हिसाबमार्फत् चालु आर्थिक वर्षको मुनाफाबाट मात्र गर्नुपर्नेछ। यसका लागि संचित मुनाफा खाता एवम् कुनै पनि कोष खर्च गर्न पाइने छैन।
७) अविमोच्य असञ्चिति अग्राधिकार शेयरमार्फत नोक्सानी प्रशोचन गर्ने सम्बन्धमा:
(क) अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गरेका इजाजतपत्रप्राप्त संस्थाको तोकिएको ट्रिगर बिन्दु पुगेको अवस्थामा नोक्सानी प्रशोचन गर्ने प्रयोजनका लागि त्यस्तो शेयर साधारण शेयरमा परिणत गर्नुपर्नेछ। यसरी परिणत गर्नु पूर्व यस बैंकको स्वीकृति लिनुपर्नेछ।
(ख) यस व्यवस्थाका लागि साधारण शेयर प्राथमिक पुँजी कुल जोखिम भारित सम्पत्तिको ५।१२५ प्रतिशतभन्दा कम भएको अवस्थालाई ट्रिगर बिन्दु मानिनेछ।
(ग) खण्ड (ख) बमोजिम अविमोच्य असञ्चिति अग्राधिकार शेयरलाई संस्थापक समूहको साधारण शेयरमा परिणत गर्नुपर्नेछ। यसरी परिणत गर्दा संख्या निर्धारण गर्ने विधि÷सुत्र विवरण पत्रमा उल्लेख गर्नुपर्नेछ।
(८) इजाजतपत्रप्राप्त संस्थाले अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्दा यस प्रकारको शेयरमा निहित जोखिम तथा ट्रिगर बिन्दु पश्चात हुन सक्ने अपेक्षित परिणामका बारेमा स्पष्ट खुलाई रिस्क डिस्कोल्जर स्टेटमेन्ट सार्वजनिक गर्नुपर्नेछ।
(९) इजाजतपत्रप्राप्त संस्थाले अविमोच्य असञ्चिति अग्राधिकार शेयरमा लगानी गर्ने लगानीकर्ताबाट देहायबमोजिम व्यवस्था समेत समावेश गरी लिखित सहमति लिनुपर्ने छ ।
(क) उपबुँदा ८ बमोजिम रिस्क डिस्क्लोजर स्टेटमेन्ट लगानीकर्ताहरूले प्राप्त गरेको।
(ख) विवरण पत्रमा उल्लिखित सम्पूर्ण व्यवस्था तथा शर्त पढेको र बुझेको।
(ग) लगानीकर्ता अविमोच्य असञ्चिति अग्राधिकार शेयरमा निहित रहेको जोखिमका बारेमा पूर्ण जानकार रहेको।
१०) इजाजतपत्रप्राप्त संस्था खारेजी भएको अवस्थामा अविमोच्य असञ्चिति अग्राधिकार शेयरको भुक्तानी साधारण शेयरभन्दा अगाडि तर पूरक पुँजी मा समावेश भएका नियामकीय पुँजी उपकरणहरु, निक्षेपकर्ता एवं अन्य साधारण साहुभन्दा पछि मात्र हुने।
११) राष्ट्र बैंकले अविमोच्य असञ्चिति अग्राधिकार शेयर स्वीकृति दिँदा आवश्यकताअनुसार अन्य थप सर्तहरू तोक्न सक्नेछ।
१२) उपर्युक्त व्यवस्था क्यापिटल एडुकेसी फ्रेमवर्क, २०१५ लागू हुने इजाजतपत्रप्राप्त संस्थाको हकमा मात्र लागू हुनेछ।






































