काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम पूर्वाधार विकासमा परिचालन गर्ने उद्देश्यले विशेष प्रकृतिको ऋणपत्र जारी गर्ने तयारी गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कोषको दायित्व भुक्तानी सुनिश्चित हुने गरी ब्याजदर निर्धारण गरेर यस्तो ऋणपत्र जारी गर्ने नीतिगत आधारबारे छलफल भइरहेको बताएका छन् ।
शुक्रबार नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले सामाजिक सुरक्षा कोषको रकमलाई राज्यको भौतिक पूर्वाधार विकाससँग जोड्ने विषयमा सरकारले गृहकार्य गरिरहेको जानकारी दिए ।
उनका अनुसार अनिवार्य पेन्सनका लागि प्रयोग हुने रकमलाई समेत परिचालन गर्न सकिने गरी कोषको न्यूनतम दायित्व भुक्तानी सुनिश्चित हुने ब्याजदरमा विशेष ऋणपत्र जारी गर्ने विकल्पबारे छलफल भइरहेको छ ।
वाग्लेले छरिएर रहेका विभिन्न सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत संरचनामा रूपान्तरण गरी दिगो सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउने विकल्पमाथि पनि काम भइरहेको बताए । स्वास्थ्य बीमालगायतका लोककल्याणकारी कार्यक्रमको समीक्षा भइरहेको उल्लेख गर्दै उनले आगामी बजेटमार्फत यस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने बताए ।
योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न आगामी बजेटमा पर्याप्त रकम विनियोजन गरिने उनको भनाइ छ । कोषमा श्रमिक तथा कर्मचारीको आबद्धता बढाउन सरकारले चालु आर्थिक वर्षमा १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको पनि उनले जानकारी दिए ।
सामाजिक सुरक्षालाई लोककल्याणकारी राज्यको आधारस्तम्भका रूपमा स्थापित गर्न आगामी पाँच वर्षसम्म निरन्तर बजेट विनियोजन गर्नुपर्नेमा जोड दिँदै वाग्लेले आगामी बजेटपछि सामाजिक सुरक्षा प्रणालीलाई दीर्घकालीन र स्थायी सुधारका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए ।
बजेटको सीमितताका कारण सबै माग तत्काल पूरा गर्न नसकिए पनि सरकारको दीर्घकालीन योजना सामाजिक सुरक्षा प्रणालीलाई सुदृढ बनाउने रहेको उनको भनाइ थियो । यसका लागि श्रममन्त्रीले पटकपटक ताकेता गर्नुपर्ने भए पनि काम भने अघि बढ्ने उनले ठट्यौली शैलीमा बताए ।
अर्थमन्त्री वाग्लेले सामाजिक सुरक्षा प्रणालीका दुई प्रमुख आधार सामाजिक बीमा र पुनर्वितरण रहेको उल्लेख गरे । उनका अनुसार अत्यन्त न्यून आय भएका, विपन्न तथा आयआर्जन गर्न नसक्ने वर्गलाई राज्यले सामाजिक सहायता र पुनर्वितरणमार्फत सुरक्षा दिनुपर्छ भने कमाउन र योगदान गर्न सक्ने नागरिकलाई योगदानमा आधारित सामाजिक बीमाको दायरामा ल्याउनुपर्छ ।
उनले सामाजिक सुरक्षा कार्यक्रमलाई खर्चका रूपमा मात्रै नभई आर्थिक उत्पादकत्व बढाउने माध्यमका रूपमा पनि हेर्नुपर्ने बताए । विभिन्न मुलुकमा भएका प्रभाव मूल्याङ्कनले सामाजिक सुरक्षा कोषको दायरा विस्तार गर्दा विशेषगरी साना तथा मझौला उद्यमको उत्पादकत्वमा सकारात्मक प्रभाव परेको देखाएको उनको भनाइ थियो ।
सामाजिक सुरक्षामा गरिने लगानीले श्रमिकको हित संरक्षण गर्नुका साथै आर्थिक समृद्धि सिर्जना र त्यसको न्यायोचित वितरणमा समेत योगदान पुर्याउने उनले बताए ।
नयाँ पुस्तालाई राज्यको उपस्थिति र संरक्षणको प्रत्याभूति दिलाउन तथा जनसाङ्ख्यिक लाभ लिन पनि सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको वाग्लेले उल्लेख गरे । सरकारले कोषको दायरा विस्तार र सामाजिक सुरक्षा प्रणालीलाई संस्थागत गर्न पूर्ण प्रतिबद्धताका साथ काम गर्ने उनको भनाइ थियो ।

































