काठमाण्डौ। नेपाली बजारमा सुनचाँदीको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
यसअघि माघ ६ गते सुनको मूल्यले उच्चतम बिन्दु छोएको थियो। उक्त दिन सुनको भाउ एकै दिन प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्दै २ लाख ८४ हजार ७ सय रुपैयाँ कायम भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढाव, विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता, मुद्रास्फीतिको दबाब तथा लगानीकर्ताको सुरक्षित लगानीतर्फको आकर्षणले सुनको मूल्यमा निरन्तर वृद्धि भइरहेको जानकारहरू बताउँछन्। यसको प्रभाव प्रत्यक्ष रूपमा नेपाली बजारमा पनि देखिएको हो।
यस्तै, चाँदीको मूल्य पनि आज बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ। चाँदीको भाउ प्रतितोला ४० रुपैयाँले बढेर ५ हजार ९ सय २० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य पनि यसअघि कहिल्यै नपुगेको स्तरमा पुगेको महासंघले जानकारी दिएको छ।






































