काठमाडौं । कम्पनी दर्ता सम्बन्धी सबै काम १५ असोजदेखि अनलाइनबाटै हुने भएको छ । कम्पनी रजिष्टारको कार्यालयका अनुसार हाल निर्माण भइरहेको सफट्वेयर असोज १५ सम्ममा तयार हुने भएकाले सो दिनबाट अनलाइनबाटै कम्पनी दर्ता गर्ने प्रक्रियालाई सुरु गरिनेछ ।
कम्पनी दर्ता, नवीकरण जस्ता सेवा अनलाइनबाटै दिने घोषणा सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत गरेको थियो । बजेट लगत्तै सुरु भएको सफ्टवेर निर्माणले एक खालको आकार पाएपछि १५ असोजदेखि कम्पनी दर्ताको काम अनलाइनबाट थालनी गर्न लागिएको कम्पनी रजिष्ट्रार महेश बरालले जानकारी दिए ।
उनले भने, ‘सफ्टवेयरको अन्य काम भइरहेका छन्, तत्कालका लागि कम्पनी दर्ता भने १५ असोजदेखि गर्न सकिने अवस्था छ, यसको तयारीका लागि कम्पनीहरु र कार्यालयको तर्फबाट काम भइरहेको छ ।’
उनका अनुसार कम्पनी दर्ता र नवीकरणसमेत अनलानबाट गर्ने आवश्यक तयारीका लागि कम्पनीसँग सरोकार राख्ने सबैका लागि सूचना जारी गरिएको छ ।
त्यस्तै कार्यालयका सूचना अधिकारी शेखर बाबु कार्कीले हाल कम्पनी रजिष्टार कार्यालयमा १५ वर्ष पुरानो सफ्टवेयर सञ्चालनमा रहेकाे बताए । असोज १५ बाट भने हाल निर्माणाधीन सफ्टवेयरलाई सुरु गरिने कार्कीले बताए । उनले भने, ‘हामीले सफ्टवेयर बनाइरहेको कम्पनीलाई पनि यो कुरा भनेका छौं । खारेजी र अन्य प्रक्रियाका लागि भने पुरानो सफ्टवेयरको डाटा माइग्रेट गर्न समय लाग्ने भएकाले केही समयपछि सुरु हुन्छ ।’
कम्पनीका कामहरु सबै अनलाइनमार्फत गराउन आवश्यक कागजात र डिजिटल हस्ताक्षर बुझाउन पनि कार्यालयले आग्रह गरेको छ । कम्पनीका कतिपय कामहरु भौतिक रुपमै हुने भए पनि तिनले पनि डिजिटल कामका लागि आवश्यक प्रक्रिया थाल्नु पर्ने कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।
कम्पनी राजिस्टारको कार्यालयले हाल अनलाइनमाध्यमबाटै कम्पनीको दर्ता, खारेजीलगायतका अन्य सम्पूर्ण सुविधा उपलब्ध गराउन आफ्नै नयाँ सफट्वेयर विकास गरिरहेको छ । १ करोड ८६ लाख लागतमा ‘इन्फो डेभलपर्स एन्ड एभरेस्ट टेलिकम एन्ड आईटी सोलुसन प्रालि जेभी’ले कार्यालयका लागि सफट्वेयरको बनाइरहेको छ ।
गत पुस २० मा उक्त कम्पनीसँग नयाँ सफ्टवेयरको डिजाइन तथा विकासका लागि सम्झौता भएको थियो । कार्यालयले गत वर्ष भदौ २५ गते यसका लागि ठेक्का आह्वान गरेको थियो ।





































