काठमाडौं। क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को सञ्चार तथा सूचना प्रविधि (आईसीटी) उपसमितिमा सदस्यको रूपमा मनोनित भएका छन्।
नास्टको व्यवस्थापन परिषद्को ३०७औं बैठकले गरेको निर्णयअनुसार विभिन्न उपसमितिहरूको पुनर्गठन गर्दै आईसीटी समितिमा अधिकारीलाई मनोनयन गरिएको हो । साथै, उपसमितिको संयोजकको रूपमा प्राडा.सुवर्ण शाक्य रहेका छन् ।
नास्टले विभिन्न विषयगत वैज्ञानिक उपसमितिहरू गठन गर्दै आएको छ । आईसीटी उपसमिति प्रविधि क्षेत्रमा महत्त्वपूर्ण निर्णय र सुधारका लागि एक महत्त्वपूर्ण मञ्चको रूपमा रहने बताइएको छ ।
समितिमा मनोनित भएसँगै अधिकारीले आफ्नो विज्ञता अनुसार प्रविधि क्षेत्रको उत्थानमा कार्य गर्ने प्रतिबद्धता जनाए । चिरञ्जीवी अधिकारी सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इन्नोभेशनका निवर्तमान अध्यक्ष इन्फरमेशन सेक्युरिटी रेस्पोन्स टिम नेपालका अध्यक्ष हुन् । विगत दुई दशकदेखि साइबर सुरक्षा विषयमा प्राध्यापन समेत गर्दै आएका अधिकारी हाल सफ्ट्वरिका कलेज र टेक्सास कलेजमा अध्यापन गर्दै आएका छन् ।
अधिकारीले प्राविधिक रूपमा विभिन्न ग्लोबल सर्टिफिकेट प्राप्त गरेका छन् साथै आइटी गभर्नेन्स, साइबर सेक्युरिटी, साइबर सेक्युरिटीमा एआई र इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टमका महत्त्वपूर्ण विषयमा काम गरेका छन् । अधिकारीले आईसीटी क्षेत्रमा युवा तथा स्टार्टअपको मुद्धालाई प्राथमिकताका साथ उठाउँदै आएका छन् ।





































