काठमाडौं। पर्वत घर भएकी सुन्ती पुर्जा मगर विगत १६ वर्ष देखि गाँजा र अल्लोबाट बन्ने हस्तकलाको सामना बनाउने काममा रमाइरहेकी छिन् । उमेरले ४२ वर्ष पुगी सकेकी उनी जोस जाँगर भने अझै युवाको जस्तै छ। लघु उद्यम विकास कार्यक्रमले जीवन नै परिवर्तन गरिदिएको उनको भनाइ छ।
लघु उद्यमको तालिमले सुन्तिको जीवनमा नयाँ आयम ल्याइदियो ।
उनको एक छोरी छिन् तर मनकारी सुन्तिले कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई आफ्नै छोराछोरी बनाई शिक्षादीक्षा दिने काम पनि गरिरहेकी छिन् । तपाईँ त सफल व्यवसायी मात्रै नभएर दिलकी धनी पनि हुनु हुँदो रैछ भन्दा उनी भन्छिन्,साथीको छोराछोरीलाई केही सहयोग गरेकी हुँ । 'उनले पहिले पनि ४ जना बालबालिकालाई राखेर पढाएकी थिइन् । उनीहरू आफ्नो पढाइसके पछि गए । अहिले फेरि उनले २ बालबालिकालाई राखेर माया, ममता दिई पढाइ रहेकी छिन् ।
सुन्तिले एस.एल.सी पास गरेकी छिन् । उद्यमी व्यवसायीको हिसाबले हेर्दा उनी एक सफल व्यवसायी हुन्। दम्पती नै मिलेर उद्योगलाई चलाई रहेका छन् । उनका श्रीमानले उनको कामलाई उच्च सम्मानका साथ साथ दिई रहेका छन् । दम्पती मिले सम्पत्ति कमाउन सकिन्छ भन्ने उदाहरणका पात्र हुन् मगर दम्पती ।
उनले धेरैलाई रोजगार समेत दिएकी छिन् । कतिको रोजीरोटीको सहारा बनेकी सुन्ति । रुखको बोक्रा निकालेर धागो र लुगा बनाउनेहरूबाट उनले बुन्ने कपडा लिन्छिन् र कपडालाई के बनाउने हो त्यहीँ अनुरूपको डिजाइन दिने काम गर्छिन्। साथै तयार पारिएका सामान बेच्ने काम पनि गर्छिन् । अल्लो र गाजाको हस्तकलाबाट उनले महिनामै लाखौँ कमाउँछिन्।
उद्योग खोल्ने बेला आफूसँग एक पैसा नहुँदा पनि काम गर्ने आट गरेको कथा उनी सुनाउँछिन् । उनले दलाल मार्फत ५ लाख रुपैयाँको खोजी गरेता पनि ५ लाख रुपैयाँबाट दलाललाई ५० हजार र जसले पैसा दिए उसलाई अफिसिएल खर्च १० हजार काटेर बाकिँ रहेको ४ लाख ४० हजार २ रुपैयाँ ब्याजमा ऋण लिएकी थिइन् । जीवन सधैँ एकनास कहाँ हुन्छ र रु सुन्तिको जीवनमा पनि अप्ठ्यारा दिनहरू नआएका कहाँ थिए र ?
पैसा साहुलाई लगेर अग्रिम भुक्तानी गर्नु पर्ने चिन्ता अर्कोतिर छदै थियो । तर पनि उनले हिम्मत हारिनन् । व्यवसाय सुरु गरेको सुरुसुरुको समयमा उनले धेरै बाँधा अड्चन भोगेकी थिइन् । पोखरा देखि काठमाडौँ स्टल मेला राख्न आउँदा व्यापार नहुँदा, भाडा नहुँदा उनी लघु उद्यमको कार्यालय गएर बेस्सरी रोएको विगत सुनाइरहँदा उनका आँखामा स्पष्टै आँसु रसाएको देखिन्थ्यो ।
१०/ १२ दिनको मेलामा होटलमा बस्नुपर्ने, के खाने ? व्यापार छैन पैसा कसरी तिर्ने भन्ने समस्या मेरो जीवन नआएको हैनन् भन्दै उनी भावुक भइन् । त्यस्तो समस्या आउँदा लघु उद्यमको सरले गएर खाएको बसेको भाडा तिरिदिएको उनी सुनाउँछिन् । पछि पछि उनको व्यापारले फड्को मर्यो । विभिन्न ठाउँमा स्टल राख्दै जाँदा विभिन्न अफिस ब्यागहरूको अर्डर आउन थाल्यो र उनको व्यापार पनि सुदृढ भएको थियो । फेरि सामान ल्याउने पैसा सकिदा उनले बैङ्कहरू धेरै चाहरिन अन्ततः सम्पत्ति नहुँदा बैङ्कले पैसा दिएन र उनी फेरि काजी मान गुरुङ दाइकोमा गुहार्न गइन् ।
गुरुङ दाइले सत्य तथ्य थाहा पाई सकेपछि जति पैसा चाहिएको हो त्यति दिएका थिए । गुरुङ दाइको फेरि अनौठो खालको नियम थियो बैङ्कको जस्तै महिना मर्न साथ ब्याज जसरी पनि बुझाउनै पर्ने । पहिला कागज गरेर मात्रै पैसा दिएका गुरुङ दाइले पछि सुन्तिको इमानदारिता देखेर विना कागज पैसा दिन थाले । विना धितो, बिना कागज २५ लाखसम्म पैसा गुरुङ दाइले योगदान गरेका थिए ।
पहिले दुःख गरेर माथि आएकी सुन्ति यो अवस्थाको सफलता पाउँदा कस्तो लाग्छ भनी सोध्दा उनी भन्छिन्, 'मिहेनत नगरे नहुने भन्ने छैन ।'' ३/४ वर्षको निरन्तरताले उनलाई धेरै पाठ सिकाएको उनले बताइन् । न कुनै पढाइ न त अनुभव नै थियो तर पनि हाम्रो आटले नै हामीलाई सफलताको बाटो डोराएको हो । राम्रो ठाउँमा लगानी गरे सफल भइन्छ भन्ने उनमा विश्वास थियो । जुवा तास खेलेर मोज मस्ती गरेर दोहोरी साँझ गएर पैसा उडाएको हैन व्यापार व्यवसाय गर्न ऋण लिएको त हो भनी उनका श्रीमानले पनि चित्त बझाएका थिए । उनको सबै आफन्त घर परिवार लाहुरे हुन् तर उनले व्यापार व्यवसाय रोजिन् । ू नेपालमै केही गर्छु भन्यो भने त यिनीहरूले सक्दैनन् डुबाउँछन् भन्छन् तर विदेश जान्छु भन्यो भने जति पनि पैसा सापटी दिन्छन्ू , उनले हाँस्दै भनिन् ।
पोखरामा उनको ऋतु सौगात हस्तकला सोरुम पनि छ । उनले सिजनको बेला त दिनमै १ लाखसम्मको व्यापार गर्छिन् । त्यति मात्र हैन उनले तयार पारेका अल्लो र गाजाको हस्तकलाका सामान विदेशमा समेत जान्छ । युरोप, अमेरिका, अस्ट्रेलिया, लगायत धेरै देशमा उनले तयार गरेका अल्लो र गाजाका हस्तकला सामानहरू जाने गर्छन् ।
कोरोना अघि त सम्पूर्ण खर्च कटाएर उनको आम्दानी मात्रै वर्षमा एक करोड हुन्थ्यो । कोरोना पछि भने व्यापारमा केही गिरावट आएको उनी सुनाउँछिन् । रसिया र युक्रेनको युद्धले उनको व्यापारमा असर पुर्याएको हो । समयअनुसार विभिन्न समस्या उत्पन्न भएता पनि उनले घाटा भने बेहोर्नु परेको छैन । सिजनको समयमा उनले पोखरकै स्वरुमबाट लाखौँको आम्दानी गर्छिन् ।
रोजगारीको अवसर नपाएर भौतारिनेहरुको लागि उनी गर्ने आट र साहस भए रोजगारी खोज्नु पर्ने हैन आफैले पनि अरूलाई रोजगारी दिन सकिन्छ है भन्ने प्रेरणा बनेकी छिन्।



































