काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालमा ११ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ।
उद्योग विभागका अनुसार साउन र भदौमा गरी ३२८ परियोजनामार्फत ११ अर्ब १२ करोड ४४ लाख ५७ हजार रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको हो।
क्षेत्रगत रूपमा विदेशी लगानीकर्ताको आकर्षण पर्यटन र सेवामा बढी देखिएको छ। दुई महिनामा पर्यटन क्षेत्रमा ३ अर्ब ७४ करोड २८ लाख ५० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।
भदौमा मात्रै १३६ परियोजनामार्फत ६ अर्ब ३५ करोड १५ लाख २१ हजार रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ। यसमध्ये स्वचालित प्रणालीमार्फत १३५ परियोजनाका लागि ६ अर्ब २७ करोड १५ लाख रुपैयाँ र साधारण प्रक्रियामार्फत एउटा परियोजनाका लागि ८० करोड रुपैयाँ प्रतिबद्धता आएको हो।
साउनमा भने १९१ परियोजनामार्फत ३ अर्ब ७७ करोड २८ लाख ८४ हजार रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो। यस आधारमा साउनको तुलनामा भदौमा लगानी प्रतिबद्धताको रकम उल्लेख्य बढेको देखिन्छ।
क्षेत्रगत विवरणअनुसार उत्पादनमूलक उद्योगका १८ परियोजनामा १ अर्ब २३ करोड ९२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। सूचना प्रविधि तथा सूचनामूलक क्षेत्रमा २१२ परियोजनामार्फत ८१ करोड ७९ लाख ७६ हजार रुपैयाँ लगानी प्रस्ताव भएको छ।
ऊर्जा क्षेत्रमा एउटा परियोजनाका लागि मात्रै २ अर्ब रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ। त्यस्तै, कृषिमूलक क्षेत्रमा एउटा परियोजनामार्फत २० करोड रुपैयाँ लगानी प्रस्ताव भएको विभागको तथ्याङ्क छ।
पहिलो दुई महिनामा खनिज तथा पूर्वाधार क्षेत्रमा भने विदेशी लगानी प्रतिबद्धता आएको छैन। विभागको तथ्याङ्कले सुरुआती दुई महिनामा विदेशी लगानीको ठूलो हिस्सा पर्यटन, सेवा र ऊर्जातर्फ केन्द्रित रहेको देखाएको छ।


































