काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ।
बैंकले काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–५, बुढानीलकण्ठ, काठमाडौँकै चन्द्रागिरि नगरपालिका–१३, दह चोक, चितवनको भरतपुर महानगरपालिका–८, शरदपुरमा र तनहुँको आबुँखैरेनी गाउँपालिका–३, आबुँखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
नयाँ शाखाहरूबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू सुरु गरिएको बैंकले जनाएको छ। बैंक देशको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।
बैंकले ३५५ शाखा, ३७६ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४६ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ।
त्यसै गरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको समेत जनाएको छ ।

































