काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्ति प्रक्रियामा गम्भीर अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
सन्तोष नारायण श्रेष्ठलाई कानुनविपरीत र आर्थिक चलखेल गरेर सेबोन अध्यक्षमा नियुक्ती गरिएकाले कारबाहीको माग गर्दै पुस १ गते अख्तियारमा उजुरी परेको हो । भ्रष्टाचारविरोधी अभियन्ता राजन शर्मा पराजुलीले अख्तियारमा दायर गरेको उजुरीमा सेबोन अध्यक्ष नियुक्ती प्रक्रियामा पाँच अर्बको कमिसन खेल भएको दाबी गरेका छन् ।
उजुरी पत्रमा नियुक्ति प्रक्रिया पारदर्शी नभएको र योग्यता नपुगेका व्यक्तिलाई अध्यक्ष बनाइएको आरोप लगाइएको छ ।अध्यक्ष श्रेष्ठको नियुक्तिमा भ्रष्टाचार भएको भन्दै तत्काल छानबिन गरी कारबाहीको माग गरिएको उक्त उजुरी अख्तियारले सी(०३५३८४/२०८१/०९/०१ नम्बरमा दर्ता गरेको छ।
सूचनाको हक प्रयोग गर्दै अर्थ मन्त्रालयमा योग्यता नपुग्ने भन्दै निवेदन दर्ता गरे पनि मन्त्रालयले योग्यताको विवरण उपलब्ध नगराएको उजुरीमा उल्लेख छ । यस्तै नियुक्तिमा ५ अर्ब रकमको चलखेल भएको दाबी गरिएको र उक्त चलखेलप्रति मन्त्रालयले बेवास्ता गरेको भन्दै अख्तियारलाई अनुसन्धान गर्न आग्रह गरिएको छ ।
‘पाँच अर्ब कमिसन प्रकरणमा जोडिएका भनिएका परराष्ट्रमन्त्री, अर्थमन्त्रीको समेत सम्बन्धलाई छानबिन गरियोस्’, उजुरीमा उल्लेख छ । यस्तै उजुरीमा नयाँ स्टक एक्स्चेन्ज पनि भ्रष्टाचार भएको हुन सक्ने भएको भन्दै छानबिन गर्न आग्रह गरिएको छ ।
उजुरीमा हिमालयन रि इन्स्योरेन्स र लघुबीमाको लाइसेन्स दिँदा पनि भ्रष्टाचार भएको भन्दै त्यसउपर अनुसन्धान गर्दै बोर्डका तत्कालीन अध्यक्ष रमेश हमालसहित अन्य कर्मचारीहरू कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, कृष्ण पोखरेल,अम्बिका गिरीलगायतको सम्पत्तिमाथि समेत छानबिन गर्नुपर्ने माग छ।



































