काठमाडौँ । आज नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीको विद्युत् बिक्री आम्दानीमा गिरावट आएको छ ।
अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ४ करोड ६८ लाख रुपैयाँ विद्युत् बिक्री आम्दानी गरेको यस कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ४ करोड २ लाख रुपैयाँ आम्दानी गरेको छ।
यस अवधिमा कम्पनीको आम्दानी १४.११ प्रतिशत घटेको हो।
आम्दानी घटेको र खर्च बढेपछि कम्पनी नोक्सानीमा पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनी २ करोड ४९ लाख रुपैयाँ नोक्सानीमा पुगेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीले ४८ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको थियो।
त्यस्तै उक्त अवधिमा कम्पनीको कुल नाफा ६१.८४ प्रतिशत घटेको छ भने वित्तीय खर्च १४९.२८ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा कम्पनीको सञ्चालन मुनाफा ७० लाख ६८ हजार रुपैयाँ ऋणात्मक रहेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ १ पैसा ऋणात्मक रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ भने १०० रुपैयाँ ४२ पैसा रहेको छ।































