काठमाडौं । सिद्धार्थ बैंकको नाफामा उल्लेखनीय सुधार आएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा बैंकको खुद नाफा १६२.७५ प्रतिशतले बढेर ८५ करोड १५ लाख ६५ हजार रुपैयाँ पुगेको छ।
बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३२ करोड ४० लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानी १०.५० प्रतिशतले बढेर २ अर्ब ३८ करोड ९६ लाख ९३ हजार रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकले ५ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ ब्याज आम्दानी गर्दा २ अर्ब ९७ करोड ५२ लाख रुपैयाँ ब्याज खर्च गरेको छ।
त्यस्तै, खुद फि तथा कमिसन आम्दानी १०.९४ प्रतिशतले वृद्धि भई ५७ करोड ७ लाख ९ हजार रुपैयाँ पुगेको छ। यससँगै बैंकको कुल सञ्चालन आम्दानी ३ अर्ब २५ करोड ५ लाख २७ हजार रुपैयाँ कायम भएको छ।
बैंकको नाफा बढ्नुको प्रमुख कारण इम्पेयरमेन्ट चार्जमा आएको गिरावट हो। गत वर्षको पहिलो त्रैमासमा १ अर्ब ३८ करोड ८७ लाख ६६ हजार रुपैयाँ रहेको यस्तो चार्ज चालु आवको सोही अवधिमा ५१.४७ प्रतिशतले घटेर ६७ करोड ३९ लाख २५ हजार रुपैयाँमा सीमित भएको छ।
यसको प्रभावले बैंकको करअघिको नाफा १ अर्ब २३ करोड ८८ लाख २१ हजार रुपैयाँ पुगेको छ। बैंकले ३८ करोड ७२ लाख ५५ हजार रुपैयाँ चालु कर व्यवस्था गरेको छ।
बैंकको निक्षेप तथा कर्जा कारोबारमा समेत वृद्धि देखिएको छ। असोज मसान्तसम्म बैंकको ग्राहक निक्षेप २.५७ प्रतिशतले बढेर ३ खर्ब ३४ अर्ब ८० करोड १२ लाख रुपैयाँ पुगेको छ। गत असार मसान्तमा यस्तो निक्षेप ३ खर्ब २६ अर्ब ४० करोड रुपैयाँ थियो।
त्यस्तै, बैंकले प्रवाह गरेको कर्जा ४.२५ प्रतिशतले बढेर २ खर्ब ४४ अर्ब ४ करोड ७ लाख रुपैयाँ पुगेको छ।
बैंकको कुल चुक्ता पुँजी १९ अर्ब ७७ करोड ३९ लाख २७ हजार रुपैयाँ रहेको छ। जसमध्ये १६ अर्ब २७ करोड ३९ लाख रुपैयाँ साधारण सेयर र ३ अर्ब ५० करोड रुपैयाँ अविमोच्य असञ्चिति अग्राधिकार सेयर रहेको छ। बैंकको जगेडा कोषमा १५ अर्ब ८१ करोड ९२ लाख रुपैयाँ र कुल इक्विटी ३५ अर्ब ९८ करोड ३८ लाख रुपैयाँ रहेको छ।
बैंकको पहिलो त्रैमासमा खुद वितरणयोग्य नाफा २७ करोड ७९ लाख ८४ हजार रुपैयाँ रहेको छ। नियमित नाफाबाट विभिन्न कोष तथा समायोजनका लागि १९ करोड ५८ लाख रुपैयाँ कटौती गरेपछि उक्त रकम कायम भएको हो।
गत वर्षको सञ्चित नाफाबाट नगद लाभांश वितरण गरेपछि बाँकी रहेको रकमसमेत जोड्दा असोज मसान्तसम्म बैंकको सञ्चित वितरणयोग्य मुनाफा ३९ करोड ६ लाख ३९ हजार रुपैयाँ पुगेको छ।
बैंकको वित्तीय विवरणअनुसार २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र २०८३ भदौ २५ गते परिपक्व भएको थियो। त्यसपछि ऋणपत्रका लागि राखिएको ‘क्यापिटल रिडेम्पसन रिजर्भ’ लाई क्यापिटल एडजस्टमेन्ट रिजर्भमा स्थानान्तरण गरिएको छ।
बैंक सञ्चालक समितिले उक्त रिजर्भमा रहेको ६८ करोड ३१ लाख रुपैयाँ र ऋणपत्र परिपक्व भएपछि थपिएको २ अर्ब ५० करोड रुपैयाँसहित कुल ३ अर्ब ५७ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको कोष बोनस सेयर जारी गर्न मात्र उपयोग गर्ने निर्णय गरेको छ।
यस व्यवस्थाका कारण नियमित वार्षिकीकरण गरिएको वितरणयोग्य प्रतिसेयर आम्दानी ६.०७ प्रतिशत रहे पनि क्यापिटल एडजस्टमेन्ट रिजर्भसमेत गणना गर्दा २५.६३ प्रतिशत पुगेको बैंकले जनाएको छ।
नाफामा भएको वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ। साधारण सेयरका आधारमा गणना गरिएको वार्षिकीकरण प्रतिसेयर आम्दानी गत वर्षको ७.८२ रुपैयाँबाट बढेर १८.७६ रुपैयाँ पुगेको छ।
बैंकको प्रतिसेयर नेटवर्थ १९९.६१ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ३७८.८४ रुपैयाँ रहेको छ। त्यस्तै, मूल्य आम्दानी अनुपात २२.९४ गुणा र तरलता अनुपात ३१.९३ प्रतिशत कायम भएको छ।
बैंकको निष्क्रिय कर्जा अनुपात गत वर्षको ३.८० प्रतिशतबाट घटेर ३.७० प्रतिशतमा झरेको छ। खुद निष्क्रिय कर्जा अनुपात पनि १.३३ प्रतिशतबाट घटेर १.०८ प्रतिशत कायम भएको छ।
निष्क्रिय कर्जाविरुद्ध बैंकले गरेको कर्जा नोक्सानी व्यवस्था १०४.०९ प्रतिशत पुगेको छ। त्यस्तै, बैंकको कोषको लागत ४.१२ प्रतिशतबाट घटेर ३.२७ प्रतिशत र आधार दर ५.९० प्रतिशतबाट घटेर ४.८७ प्रतिशत कायम भएको छ। पछिल्लो तीन महिनाको औसत आधार दर भने ४.८८ प्रतिशत रहेको छ।
बैंकको कर्जा–निक्षेप अनुपात ७५.२९ प्रतिशत रहेको छ। ब्याजदर अन्तर ३.६८ प्रतिशत, पुँजी कोष अनुपात १२.२९ प्रतिशत, टियर १ पुँजी अनुपात १०.१६ प्रतिशत र कमन इक्विटी टियर १ अनुपात ९.०३ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ।
यसैगरी, बैंकको इक्विटीमा प्रतिफल ४.१२ प्रतिशतबाट बढेर ९.२८ प्रतिशत पुगेको छ भने सम्पत्तिमा प्रतिफल ०.३८ प्रतिशतबाट बढेर ०.७९ प्रतिशत कायम भएको छ।
व्यावसायिक कारोबारतर्फ बैंकिङ कारोबारबाट ५ अर्ब २ करोड २६ लाख रुपैयाँ आम्दानी र ६१ करोड ८० लाख रुपैयाँ करअघिको नाफा भएको छ। ट्रेजरी कारोबारबाट १ अर्ब ३८ करोड ९५ लाख रुपैयाँ आम्दानी र ५८ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन भएको छ।
बैंकको ५१ प्रतिशत स्वामित्व रहेको सहायक कम्पनी सिद्धार्थ क्यापिटलबाट बैंकले पहिलो त्रैमासमा ३ करोड ६ लाख रुपैयाँ नगद लाभांश प्राप्त गरेको छ।
बैंकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ। अग्राधिकार सेयरधनीलाई भने ८.२५ प्रतिशतका दरले लाभांश वितरण गरेको छ।

































