National life
cg eloctronics

मर्जरबिनै व्यवसाय विस्तार गर्दै सिद्धार्थ बैंक, यस्तो छ बैंकको वित्तीय अवस्था

सिद्धार्थ बैंकका शेयरधनीलाई हरेक वर्ष लाभांश, प्रतिशेयर आम्दानी २० भन्दा तल झरेन, नेटवर्थ लगातार बढ्दै

max lubricant tata
बिजय राज फुयाँल
बिजय राज फुयाँल
अहिले मात्र|२६ असोज २०८३, सोमबार
467Shares
मर्जरबिनै व्यवसाय विस्तार गर्दै सिद्धार्थ बैंक, यस्तो छ बैंकको वित्तीय अवस्था
ncell

काठमाडौं । सिद्धार्थ बैंकले पछिल्ला वर्षहरुमा आफ्नो व्यवसायको आकार विस्तारसँगै शेयरधनीलाई निरन्तर लाभांश वितरण गर्दै आएको छ। आर्थिक वर्ष २०८२/८३ मा बैंकले साधारण शेयरधनीका लागि १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

साथै, अग्राधिकर शेयरधनीलाई ८.२५ प्रतिशत नगद लाभाश (कर सहित) प्रस्ताव गरेको छ ।  उक्त प्रस्ताव पारित गर्न बैंकले असोज २८ गते साधारण सभा बोलाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले गत वर्षको नाफाबाट घोषणा गरेको प्रतिफल आव २०७५-७६ यताकै उच्च हो । सो वर्ष बैंकले २५.२६ प्रतिशत लाभांश दिएको थियो । यससँगै कम्पनीले विगत एक दशकभन्दा लामो अवधिमा हरेक वर्ष शेयरधनीलाई बोनस तथा नगद लाभांश दिँदै आएको देखिन्छ।

नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त  गरी वित्तीय कारोबार गर्दै आएको सिद्धार्थ बैंक देशका अग्रणी वाणिज्य बैंकमध्ये एक हो । बैंक २०७३ सालमा एउटा विकास बैंकलाई गाभेपछि थप मर्जर वा प्राप्तिको बाटोमा नगई स्वाभाविक वृद्धिको रणनीतिमा अघि बढेको छ।

बैंकका अनुसार यस अवधिमा शाखा, एटीएम, एक्सटेन्सन काउन्टर तथा डिजिटल च्यानलको विस्तारसँगै खुद्रा, कर्पोरेट, साना तथा मझौला उद्यम, ट्रेड फाइनान्स, ट्रेजरी, विप्रेषण र डिजिटल बैंकिङमा व्यवसाय विस्तार गरिएको छ।

 पाँच वर्षमा नाफा २ अर्ब ९० करोडबाट ३ अर्ब ४८ करोड

सिद्धार्थ बैंकको पछिल्लो पाँच वर्षको वित्तीय तथ्यांक हेर्दा बैंकको खुद नाफामा समग्र वृद्धि देखिन्छ। आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ९० करोड २४ लाख रुपैयाँ रहेको खुद नाफा २०७९/८० मा ३ अर्ब १६ करोड ६७ लाख रुपैयाँ पुगेको थियो । आर्थिक वर्ष २०८०/८१ मा नाफा केही घटेर ३ अर्ब ८ करोड रुपैयाँमा सीमित भएपनि २०८१/८२ मा ३ अर्ब ३६ करोड ६६ लाख रुपैयाँ र २०८२/८३ मा बढेर ३ अर्ब ४७ करोड ८४ लाख रुपैयाँ पुगेको छ ।

बैंकको आफ्नै वार्षिक प्रतिवेदनअनुसार समीक्षा वर्षमा खुद नाफा अघिल्लो आर्थिक वर्षको ३ अर्ब ३६ करोडबाट बढेर ३ अर्ब ४७ करोड रुपैयाँ पुगेको हो । खुद ब्याज आम्दानी तथा शुल्क तथा कमिसन आम्दानी बढेपछि खुद नाफामा सुधार आएको बैंकले जनाएको छ।

यसैगरी बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । आर्थिक वर्ष २०८१/८२ मा ८ अर्ब ४३ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी २०८२/८३ मा बढेर ९ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। यो करिब ७.२४ प्रतिशतको वृद्धि हो।

nic asia capital

बैंकको व्यवसाय विस्तारलाई निक्षेप र कर्जाको वृद्धिले पनि देखाउँछ । गत वर्षमा बैंकको निक्षेप २८० अर्ब ३१ करोड रुपैयाँबाट बढेर ३२७ अर्ब १ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको कर्जा लगानी २१४ अर्ब ४५ करोड रुपैयाँबाट बढेर २३४ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।

बैंकले लगानी पनि उल्लेख्य बढाएको छ । ८४ अर्ब १८ करोड रुपैयाँ रहेको लगानी बढेर ११५ अर्ब ७० करोड रुपैयाँ पुगेको छ, जुन करिब ३७.४३ प्रतिशतको वृद्धि हो। कुल सम्पत्ति पनि ३३८ अर्ब ८१ करोडबाट बढेर ३८९ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ।

यसले बैंकले पछिल्लो वर्ष केवल कर्जा विस्तारमा मात्र नभई उपलब्ध तरलतालाई व्यवस्थापन गर्दै लगानीको आकारसमेत बढाएको देखाउँछ। विशेषगरी बजारमा अधिक तरलता रहेको अवस्थामा बैंकले अल्पकालीन लगानी बढाएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिशेयर आम्दानी २२ रुपैयाँ ७८ पैसा

बैंकको प्रतिशेयर आम्दानी पनि पछिल्लो पाँच वर्षमा २० रुपैयाँभन्दा माथि कायम छ । आर्थिक वर्ष २०७८/७९ मा २० रुपैयाँ ६० पैसा रहेको इपीएस २०७९/८० मा २२ रुपैयाँ ४८ पैसा, २०८०/८१ मा २१ रुपैयाँ ८६ पैसा, २०८१/८२ मा २२ रुपैयाँ ७६ पैसा हुँदै २०८२/८३ मा २२ रुपैयाँ ७८ पैसा पुगेको छ ।

तर पछिल्लो वर्ष इपीएसमा भएको वृद्धि निकै सामान्य छ। बैंकको वार्षिक प्रतिवेदनअनुसार अघिल्लो वर्षको २२ रुपैयाँ ७६ पैसाबाट बढेर २२ रुपैयाँ ७८ पैसा पुगेको हो, अर्थात् करिब ०.१२ प्रतिशतको मात्र वृद्धि।

अर्कोतर्फ, बैंकको नेटवर्थ प्रतिशेयर भने निरन्तर बढेको देखिन्छ। २०७८/७९ मा १७२ रुपैयाँ ४५ पैसा रहेको नेटवर्थ २०७९/८० मा १७९ रुपैयाँ ६१ पैसा, २०८०/८१ मा १९९ रुपैयाँ २१ पैसा, २०८१/८२ मा २१९ रुपैयाँ ७७ पैसा हुँदै २०८२/८३ मा २२४ रुपैयाँ ८९ पैसा पुगेको छ।

  शेयरधनीलाई एक दशकदेखि निरन्तर लाभांश

सिद्धार्थ बैंकको अर्को महत्वपूर्ण पक्ष यसको लाभांश इतिहास हो। उपलब्ध विवरणअनुसार बैंकले आर्थिक वर्ष २०६३.६४ देखि लगातार लाभांश वितरण गर्दै आयको छ । सो वर्ष १५.७९ प्रतिशत २०६४.६५ मा १५.७९ प्रतिशत २०६५.६६ मा १५.७९ प्रतिशत २०६६.६७ मा १०.०३ प्रतिशत  २०६७.६८ मा  १५.७९ प्रतिशत, २०६८-६९ मा ८.४२, २०६९-७० मा २२.११, २०७०-७१ मा २३.१६ प्रतिशत र २०७१-७२ मा २१.०५  प्रतिशत लाभांश दिएको देखिन्छ ।

त्यस्तै, आर्थिक वर्ष २०७२/७३ मा बैंकले ३९ प्रतिशत बोनस शेयर दिएको थियो। त्यसपछि २०७३/७४ मा १४ प्रतिशत बोनस, २०७४/७५ मा ५ प्रतिशत बोनस र ८.१६ प्रतिशत नगद गरी कुल १३.१६ प्रतिशत, २०७५/७६ मा १० प्रतिशत बोनस र १५.२६ प्रतिशत नगद गरी २५.२६ प्रतिशत लाभांश दिएको थियो।

यता, आर्थिक वर्ष २०७६/७७ मा १२ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरी १५ प्रतिशत, २०७७/७८ मा १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद गरी १५ प्रतिशत तथा २०७८/७९ मा १२.५ प्रतिशत बोनस र ०.६६ प्रतिशत नगद गरी कुल १३.१६ प्रतिशत लाभांश वितरण गरेको थियो।

पछिल्ला तीन वर्षमा भने बैंकको लाभांशमा बोनसभन्दा नगदतर्फको हिस्सा बढेको देखिन्छ। आर्थिक वर्ष २०७९/८० मा ४.२१ प्रतिशत नगद, २०८०/८१ मा ४ प्रतिशत नगद र २०८१/८२ मा ५ प्रतिशत बोनस तथा ५.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०८२/८३ मा भने बैंकले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

बैंकको प्रतिवेदनअनुसार ऋणपत्र भुक्तानी कोषबाट फिर्ता भएको रकममध्ये १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ बराबरको साधारण शेयर चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरिएको हो। साथै वितरणयोग्य मुनाफाबाट थप १० प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ।

यसरी हेर्दा सिद्धार्थ बैंकको लाभांश इतिहासमा कुनै वर्ष उच्च बोनस वितरण भएको देखिन्छ भने पछिल्ला वर्षमा बोनस र नगदलाई सन्तुलित रुपमा प्रयोग गर्ने रणनीति देखिन्छ।

पूँजी बढ्दै जाँदा पनि नाफा वृद्धिको गति भने मध्यम

सिद्धार्थ बैंकको चुक्ता पूँजी तथा जगेडा कोष पनि क्रमशः बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा बैंकको चुक्ता पूँजी १८ अर्ब २९ करोड (अग्राधिकार सहित) रुपैयाँ पुगेको छ ।

पूँजी, निक्षेप र सम्पत्तिको आकार बढिरहेको अवस्थामा खुद नाफा पनि बढे पनि पछिल्लो वर्ष नाफा वृद्धि ३.३२ प्रतिशतमा सीमित छ । इपीएस पनि करिब स्थिर रहेकोले बैंकको आगामी चुनौती व्यवसायको आकार बढाउनु मात्र नभई त्यसबाट प्रतिफल सिर्जना गर्ने क्षमतालाई थप बलियो बनाउनु हुनेछ।

निष्क्रिय कर्जा बढ्नु बैंकका लागि चुनौती

वित्तीय अवस्था हेर्दा बैंकका केही सकारात्मक पक्षसँगै चुनौती पनि छन् । बैंकको निष्क्रिय कर्जा अनुपात समीक्षा वर्षमा ३.५२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष २.६२ प्रतिशत थियो । अर्थात् बैंकको व्यवसाय र नाफा बढे पनि सम्पत्तिको गुणस्तरमा दबाब देखिएको छ। बैंकले निष्क्रिय कर्जाका लागि पर्याप्त जोखिम व्यवस्था गरेको तथा असुली प्रक्रियालाई निरन्तरता दिएको जनाएको छ।

इक्रा नेपालको रेटिङ बीबीबी प्लस

सिद्धार्थ बैंकको वित्तीय अवस्थासँगै रेटिङ पनि लगानीकर्ताका लागि महत्वपूर्ण पक्ष हो। इक्रा नेपालले बैंकलाई इक्राएनपी आइआर बीबीबी प्लस दिएको छ। यो रेटिङले वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमताका हिसाबले बैंकलाई मध्यम स्तरको सुरक्षा भएको र मध्यम क्रेडिट जोखिम रहेको संकेत गर्छ।

इक्राले बैंकको सम्पत्तिको गुणस्तरमा आएको दबाब, निष्क्रिय कर्जा बढेको अवस्था, कर्जा भुक्तानीमा ढिलाइ र पूँजीको सीमित सुरक्षात्मक तहलाई प्रमुख चिन्ताका रुपमा औंल्याएको थियो।

 डिजिटल बैंकिङमा पनि विस्तार

सिद्धार्थ बैंकले पछिल्लो समय वित्तीय आकार विस्तारसँगै डिजिटल बैंकिङलाई पनि रणनीतिक प्राथमिकता दिएको जनाएको छ । बैंकले डिजिटल प्लेटफर्ममार्फत बैंकिङ सेवाको पहुँच र ग्राहक अनुभव विस्तार गर्नुका साथै ‘सिद्धार्थ ईजी लोन’, ‘सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड’, ‘सिद्धार्थ गोल्ड लोन’ र ‘सिद्धार्थ मेरो चित्र’ लगायतका सेवा सञ्चालनमा ल्याएको छ।

यसका साथै कर्जा व्यवस्थापन, जोखिम मूल्यांकन, ऋण स्वीकृति प्रक्रिया तथा ग्राहक विश्लेषणलाई प्रविधिमा आधारित बनाउँदै लगिएको प्रतिवेदनमा उल्लेख छ।

 सिद्धार्थ बैंकले पछिल्ला वर्षमा मर्जर तथा प्राप्तिमार्फत आक्रामक विस्तार गर्नुको सट्टा स्वाभाविक वृद्धिको रणनीतिबाट व्यवसायको आकार बढाउँदै आएको देखिन्छ ।

पाँच वर्षमा खुद नाफा २ अर्ब ९० करोडबाट ३ अर्ब ४८ करोड रुपैयाँको हाराहारीमा पुगेको छ भने निक्षेप ३२७ अर्ब र कर्जा २३४ अर्ब रुपैयाँ नाघेको छ ।

शेयरधनीका लागि पनि बैंकको लाभांश इतिहास लामो छ। आर्थिक वर्ष २०६७/६८ देखि उपलब्ध तथ्यांकअनुसार हरेक वर्ष लाभांश वितरण भएको देखिन्छ र २०८२/८३ मा १० प्रतिशत बोनस तथा १० प्रतिशत नगदसहित कुल २० प्रतिशत लाभांश प्रस्ताव गरिएको छ ।

सिद्धार्थ बैंकको पछिल्लो प्रगतिमा नेतृत्वको भूमिका पनि महत्वपूर्ण देखिन्छ। बैंकका अध्यक्ष राहुल अग्रवालले १२ जनवरी २०२५ देखि नेतृत्व सम्हाल्दै आएका छन् भने  रामेश्वर प्रसाद  बस्यालले ९ जनवरी २०२६ देखि प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सम्हालेका छन्। उनीहरुको नेतृत्वमा बैंकले व्यवसाय विस्तार, वित्तीय प्रदर्शन सुधार, जोखिम व्यवस्थापन तथा ग्राहक सेवामा निरन्तर सुधार गर्दै बैंकलाई थप मजबुत बनाउने दिशामा अघि बढिरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
467SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?