काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोषमा उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्म कम्पनीको जीवन बीमा कोष ३५.०७ प्रतिशतले बढेर २९ अर्ब १६ करोड २७ लाख रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको असोज मसान्तसम्म २१ अर्ब ५९ करोड १० लाख रुपैयाँ रहेको कोष एक वर्षमा ७ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीले विस्तार भएको हो ।
कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद बीमाशुल्क आर्जन पनि १६.८२ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा २ अर्ब १२ करोड ६३ लाख रुपैयाँ रहेको खुद बीमाशुल्क आर्जन बढेर २ अर्ब ४८ करोड ४० लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, कम्पनीको कुल आम्दानी १३.०८ प्रतिशतले बढेर ३ अर्ब ७ करोड २ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको कुल आम्दानी २ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको सञ्चित मुनाफामा पनि सुधार देखिएको छ । समीक्षा अवधिमा सञ्चित मुनाफा १७.८१ प्रतिशतले बढेर ५८ करोड ७० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, महाविपत्ति कोष ३.७१ प्रतिशतले वृद्धि भएर २७ करोड ९४ लाख रुपैयाँ कायम भएको छ ।
कम्पनीको कुल खर्च १४.९६ प्रतिशतले बढेर २ अर्ब ९७ करोड २ लाख रुपैयाँ पुगेको छ । खर्चको वृद्धिदर आम्दानीको भन्दा बढी रहेकाले खुद नाफा भने गत वर्षको १३ करोड १४ लाख रुपैयाँबाट घटेर १० करोड रुपैयाँमा सीमित भएको छ ।
कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ५० पैसा कायम भएको छ ।


































