काठमाडौँ। आगामी जनवरीदेखि लागु हुने गरी सगरमाथा राष्ट्रिय निकुञ्जले निकुञ्ज क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लाउने निर्णय गरेको छ ।
निकुञ्ज कार्यालयले २६ मंसिरमा सबै ११ हेलिकप्टर सेवा प्रदायक कम्पनीलाई पत्राचार गरी १ जनवरी २०२५ अर्थात् १७ पुस २०८१ देखि लागु हुने गरी सगरमाथा निकुञ्ज क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाउने निर्णय गरेको हो।
सोलुखुम्बुका स्थानीय निकाय, निकुञ्ज कार्यालय लगायत सगरमाथा क्षेत्रमा व्यावसायिक हिसाबमा हेलिकप्टर उड्नै नदिने अडानमा उभिएसँगै प्राधिकरण र हेलिकप्टर कम्पनीहरू उडाएरै छाड्ने अडानमा देखिएका छन् ।
हेलिकप्टर उड्न दिने वा नदिने भन्ने दोहोरी चलिरहेका बेला उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले निकुञ्ज कार्यालय र स्थानीय निकायलाई उडान रोकेर देखाउन चुनौती दिएका छन् ।
उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले संघीय सरकारको एकल अधिकार अन्तर्गत सूचीकृत नेपाली वायु क्षेत्रमा हुने हवाई उड्डयन नियमन तथा व्यवस्थापन गर्ने कानुनी जिम्मेवारी गैर सैनिक हवाई उडान ऐन २०१५ र नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ अन्तर्गतका नियमावलीमा भएको व्यवस्था बमोजिम प्राधिकरणमा निहित रहेको बताए।




































