काठमाडौंः सर्वोत्तम सिमेन्टको आइपीओमा आज दोस्रो दिन अर्थात सोमबार साँझ कार्यालय समयसम्म ८ अर्ब १ करोड २० लाख ६३ हजार ७ रुपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडको तथ्यांकले देखाएमा उल्लेख गरिए अनुसार ४ लाख ७ हजार ७११ जनाले २ करोड २२ लाख २३० कित्ताका लागि आवेदन दिएका छन्। सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई आइतबार (फागुन १३ गते) गतेदेखि कुल २७ लाख ७६ हजार ७६ कित्ता आइपीओ निष्कासन तथा बिक्री खुला गरेको हो ।
सीडीएसका अनुसार आईतबारका दिन नै माग भन्दा ३ गुणा बढी आवेदन परेको उक्त आइपीओमा आज दोस्रो दिनमै मागभन्दा ८ गुणा बढी आवेदन परेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको छ।
सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ भाउमा आइपीओ जारी गरेको हो । यसमा फागुन १६ गतेसम्म आवेदन दिन सकिन्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

































