काठमाडौँ । यस साता भएको शेयर सेयर कारोबारमा लगातार ४ कारोबारका दिन बजारमा गिरावट आएको छ भने एक कारोबारका दिन बजारमा बढेको हो । निरन्तर घटेको सूचकमा लगानीकर्ताले साताभरमा झण्डै ३० अर्बको सेयर कारोबार गरेका छन् ।
पाचौं दिन नै कारोबार भएको शेयर बजारमा आइतबार र सोमबार बजार लगातार घटेका थियो भने मङ्गलवार २५ अंकले बढेको भए पनि बुधवार र बिहीबार पुनः शेयर बजारमा गिरावट आएको हो ।
साताको पहिलो कारोबारका दिन आइतबार बजारमा गिरावट आउँदा समेत ८ अर्ब बढीको कारोबार भएको छ । शेयर बजार परिसूचक नेप्से ४७.४४ अंकले २६९७.९१ विन्दुमा झरेको थियो । आइतबार बजारमा २ करोड कित्ता सेयर बिक्रीमा ८ अर्ब १८ करोड २ लाख ६२ हजार रुपैयाँको सेयर कारोबार भएको थियो।
साताको दोस्रो कारोबारका दिन सोमबार सूचक र कारोबार दुवैमा गिरावट आएको थियो । नेप्से सूचक ६०.०८ अंकले घटेर २६३७.८३ विन्दुमा झर्दा कारोबार रकम समेत ५ अर्ब ९० करोड रुपैयाँमा ओरालिएको हो ।
उक्त दिन दिन १ करोड ३७ लाख कित्ता सेयर मात्र बिक्री भएको थियो। सोमबार कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका थिए । कारोबारतर्फ भने हिमालयन रिइन्स्योरेन्सको २१ करोड ७३ लाखको सर्वाधिक किनबेच भएको थियो। यस दिन लगानीकर्ताले कुमारी बैंकको १७ करोड ४७ लाख रुपैयाँको कारोबार गर्दा ङादी पावर लिमिटेडको १६ करोड, गुडविल फाइनान्सको १४ करोड खरिदबिक्री भएको थियो।
त्यस्तै लगातार दुई दिन उच्च अंकले घटेको शेयर बजारमा मङ्गलवार भने २५.८८ अंकले सुधार आएको थियो। उक्त दिन बजार ०.९८ प्रतिशतले बढेर २६६५.८१ विन्दुमा कायम भएको थियो । उक्त दिन ४ अर्ब १७ करोड १६ लाखको किनबेच भएको थियो।
उक्त कारोबारमा १९९ कम्पनीको सेयर मूल्य बढ्दा ४० वटाको घटेको र ५ वटाको उही मूल्यमा कारोबार भएको थियो। मङ्गलवार रावा इनर्जी डेभलपमेन्टको ८.८६ प्रतिशत, मनकामना इन्जिनियरिङ हाइड्रोको ७.८२ प्रतिशत, थ्रीस्टार हाइड्रोपावरको ६.३६ प्रतिशत प्रतिसेयर आम्दानी भएको हो ।
साताको तेस्रो कारोबारका दिन सामान्य सुधार आएको बजारमा चौथो कारोबारका दिन बुधवार शेयर बजारमा फेरि गिरावट आएको हो। यस दिन नेप्से सूचक २०.४१ अंकले घटेर २६४५.३९ विन्दुमा ओर्लिएको हो । योसँगै उक्त दिन कुल ६ अर्ब २७ करोड रुपैयाँको कारोबार भएको थियो।
उक्त दिन ९३ लाख कित्ता सेयर किनबेच भएको हो । यस दिन आईसीएफसी फाइनान्सका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका थिए । कम्पनीको सेयर १० प्रतिशतले बढेपछि लगानीकर्ताले ७४.९० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका हुन । साथै, समृद्धि फाइनान्स, मञ्जुश्री फाइनान्सका लगायतका कम्पनीले उक्त दिन नाफा कमाएका छन् ।
यसबाहेक कुमारी बैंकको २६ करोड, साहस ऊर्जाको २६ करोड, समृद्धि फाइनान्सको २४ करोड र हिमालयन डिस्टिलरीको १९ करोडको सेयर खरिदबिक्री भएको थियो।
साताको अन्तिम कारोबारका दिन नेप्से १८.२५ अंकले घटेर २६२७.१४ विन्दुमा रोकिएको हो। उक्त दिन शेयर बजारमा ५ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको छ। बिहीबार १ करोड २२ लाख ८३ हजार ६२३ कित्ता सेयर बिक्री भएको हो ।
अन्तिम दिन नेपाल एसबीआई बैंकको सेयर ९.७५ प्रतिशतले बढ्दा लगानीकर्ताले ४७.१० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका हुन् । यसबाहेक पिपुल्स हाइड्रोपावर, सनराइज ब्लुचिप फन्ड, समृद्धि फाइनान्सका आरबीबी म्युचुअल फन्ड लगाउतका कम्पनीका लगानीकर्ताले राम्रो आम्दानी गरेका छन् ।
उक्त दिन एनएलजी इन्स्योरेन्सको ३४ करोड अर्थात् सर्वाधिक किनबेच भएको हो साहस ऊर्जाको २४ करोड ९३ लाख, आईसीएफसी फाइनान्सको २४ करोड ९२ लाख, पिपुल्स हाइड्रोपावरको २४ करोड र समृद्धि फाइनान्सको १९ करोडको खरिदबिक्री भएको थियो।
समग्रमा बिहीबार ५ अर्ब ४१ करोड, बुधवार ६ अर्ब २७ करोड, मङ्गलवार ४ अर्ब १७ करोड, सोमबार ५ अर्ब ९० करोड र आइतबार ८ अर्ब १८ करोड गरी लगानीकर्ताले यस साता कुल २९ अर्ब ९३ करोडको कारोबार गरेका छन् ।

































