काठमाडौँ । ललितपुरको नख्खुडोल क्षेत्रमा आज पनि सवारी आवागमन बन्द भएको छ । विभिन्न स्थानमा खसेको पहिरोको कारण बिपी राजमार्ग, फर्पिङ र कान्तीलोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आज पनि चल्न सकेका छैनन् ।
सिन्धुलीको गोलन्जोर गाउँपालिकाका विभिन्न स्थान तथा फिक्कल गाउँपालिका २ मा खसेको पहिरोले मध्यपहाडी लोकमार्गको आवागमन अवरुद्ध भएको छ । त्यसैगरी रामेछापको मन्थली नगरपालिका ६ स्थित सुनकोशी नदीले पुल बगाउँदा खुर्कोट–मन्थली चल्ने सवारी साधनको आवागमन पनि पूर्ण रुपमै रोकिएको छ ।
काभ्रेपलान्चोकको विभिन्न स्थानहरूमा रोशी खोलाले सडक कटान गरेका कारण वीपी राजमार्ग केही दिन अगाडीबाट पूर्ण रूपमा अवरुद्ध भएको छ । सगरमाथा राजमार्ग अन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँपालिका ११ जोड्ने पुल भत्किएकाले आवागमन प्रभावित भएको छ ।
त्यस्तै, मेची राजमार्गमा पर्ने पाँचथरको फिदिम नगरपालिका र हिलेहाङ गाउँपालिका जोडने हेवाखोलामा रहेको बेलिब्रीज बाढीले बगाउँदा आवत–जावत रोकिएको छ ।यस बाहेक अन्य नाकाबाट भने सवारी साधन सञ्चालनमा आएका छन् ।

































