काठमाडौँ । शिखर इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार यस अवधिमा शिखर इन्सुरेन्सको खुद नाफा सामान्य बढेको छ।
यसअवधिमा कम्पनीको नाफा २.५१ प्रतिशतले बढेर ११ करोड ५२ लाख ३५ हजार रुपैयाँ पुगेको छ।
यता, खुद बिमा शुल्क आर्जन पनि सामान्य अर्थात् १.५७ प्रतिशतले बढेर २८ करोड २२ लाख ५३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यस अवधिमा यसले २७ करोड ७८ लाख ९९ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीको कुल आम्दानी ५५ करोड १७ लाख रुपैयाँ रहेको छ । पहिलो त्रैमाससम्म कम्पनीले १९ करोड ९० लाख रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ०.५४ प्रतिशतले बढी हो ।
पहिलो त्रैमाससम्म कम्पनीले ३९ करोड ३८ लाख रुपैयाँबराबरको कुल खर्च गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ४० करोड ६६ लाख रुपैयाँबराबरको कुल खर्च गरेको थियो ।
असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी सामान्य अर्थात् ४२ पैसाले बढेर १७ रुपैयाँ ३६ पैसा पुगेको छ । असोज मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ २०९ रुपैयाँ ६२ पैसा कायम छ ।





































