काठमाडौँ । इष्टर्न हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले १ करोड ५५ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५५.८९ प्रतिशत बढी हो।
यस अवधिमा कम्पनीको बिक्री आम्दानी ४ करोड ५३ लाख रुपैयाँबाट बढेर ४ करोड ६६ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, कम्पनीको कुल नाफा ४ करोड ११ लाख रुपैयाँबाट बढेर ४ करोड २९ लाख रुपैयाँ पुगेको छ।
यस अवधिमा कम्पनीको कुल खर्च भने १ करोड ५३ लाख रुपैयाँबाट घटेर १ करोड ३३ लाख रुपैयाँमा झरेको छ। कम्पनीको वित्तीय खर्च घटेर १ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ। जसका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो।
असोज मसान्तसम्म आइपुग्दा इस्टर्न हाइड्रोपावरको चुक्ता पुँजी ६२ करोड रुपैयाँ रहेको छ । जगेडा कोष भने १४ करोड ७२ लाख रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ५१ पैसा र प्रतिसेयर नेटवर्थ ७६ रुपैयाँ २४ पैसा छ ।





































