काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाको लागि फाइनान्सियल क्लोजरसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
यस आयोजनाको प्रवद्र्धक कम्पनी सौर्य होल्डिङ प्रा.लि. र बैंकबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो ।
उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकका चिफ बिजनेश अफिसर कल्याण विक्रम पाँडे, लक्ष्मी सनराइज बैंकका चिफ बिजनेश अफिसर मनिशराज कुँवर र सौर्य होल्डिङ प्रा.लि.का प्रबन्ध निर्देशक मोहन विक्रम कार्कीले हस्ताक्षर गरेका थिए ।
ताप्लेजुङ्ग जिल्लाको माथिल्लो मेवा खोलामा निमार्ण हुने ३१.९२ मेगावाट क्षमताको यस जलविद्युत आयोजनाको अनुमानित लागत ६ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।
सम्झौताअनुसार बैंकले ७५ प्रतिशत लगानी गर्नेछ । बाँकी २५ प्रतिशत रकम सौर्य होल्डिङले हकप्रद जारीबाट उठेको रकम लगानी गर्नेछ । यो आयोजना निर्माण सुरु भएको मितिबाट ३ वर्षभित्र सम्पन्न हुनेछ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट सम्मानित बैंक होे ।
ग्लोबल आइएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । देशभर बैंकका ३५२ शाखा कार्यालय, ३८५ एटिएम, १५८ शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय छन् ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाका अतिरिक्त रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स पनि भित्र्याउँदै आएको छ ।






























