काठमाडौं। नेपालले अन्तर्राष्ट्रिय बजार भारत र बङ्गलादेशमा दैनिक साढे ९ सय मेगावाट बिजुली निर्यात गर्दै आएको छ । आन्तरिक खपतबाट बचेको बिजुली अन्तर्राष्ट्रिय बजारमा बेचेर प्राधिकरणले गत आर्थिक वर्षमा मात्रै १७ अर्ब ४६ करोड रुपैयाँको आम्दानी गरेको छ।
प्राधिकरणले भारतमा ११ सय २५ मेगावाट र बङ्गलादेशमा ४० मेगावाट गरी कुल ११ सय ६५ मेगावाट बिजुली बेच्ने अनुमति पाएको छ। त्यस्तै, नेपालले हाल भारततर्फ औसतमा नौ सय मेगावाट र बङ्गलादेशमा ४० मेगावाट गरी दैनिक करिब ९ सय ५० मेगावाट बिजुली निर्यात भइरहेको छ।
पहिलो, भारतीय ऊर्जा बजार (आईईएक्स) मार्फत ५ सय २१.७ मेगावाट र दोस्रो, मध्यमकालीन सम्झौतामार्फत ६ सय ३।३७ मेगावाट तथा मध्यमकालीन सम्झौताअन्तर्गत वर्षा याममा प्रति युनिट ८ रुपैयाँ ४० पैसामा बिजुली बिक्री गर्दै आएको छ।
यता, बङ्गलादेशमा भने ढल्केबर -मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन हुँदै भारतीय बाटो भएर नेपाली बिजुली निर्यात हुन्छ। यहाँ प्राधिकरणले प्रति युनिट ६.४० अमेरिकी सेन्टमा बिजुली बेचिरहेको छ। हाल नेपालको कुल विद्युत् जडित क्षमता ३,८७८ मेगावाट पुगेको छ।
सरकारले आगामी १० वर्षमा २८ हजार ५ सय मेगावाट बिजुली उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य राखे पनि ‘टेक एण्ड पे’ नीतिमा संशोधन नहुँदा नयाँ विद्युत् खरिद/बिक्री सम्झौता (पीपीए) ठप्प छ, जसले भविष्यको ऊर्जा विकासमा बाधा पुग्न सक्ने देखिएको छ।































