काठमाडौँ । नेपालले विद्युत् निर्यातमा नयाँ इतिहास कायम गरेको छ । नेपालले हाल भारत र बङ्गलादेशलाई दैनिक १ हजार १ सय ३० मेगावाटभन्दा बढी विद्युत् निर्यात गरिरहेको छ ।
यो दर निरन्तर कायम रह्यो भने नेपालले वार्षिक करिब ८६ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्ने अनुमान गरिएको छ। उर्जामन्त्री दीपक खड्काका अनुसार नेपालले यस अवधिमा करिब ९ अर्ब ९० करोड ६ लाख युनिट विद्युत् बिक्री गर्नेछ।
यसैबीच सरकारले पहिलो पटक दीर्घकालीन ऊर्जा मार्गचित्र–२०८१ ल्याएर २०३५ सम्मका लागि स्पष्ट लक्ष्य तय गरेको छ । त्यसअनुसार, २०३५ सम्म कुल २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने र त्यसमध्ये १५ हजार मेगावाट निर्यात गर्ने योजना रहेको छ। ।
भारतलाई १० हजार मेगावाट र बङ्गलादेशलाई ५ हजार मेगावाट निर्यात गर्ने ठोस योजना तयार भएको मन्त्री खड्काको भनाइ छ । नेपालको ऊर्जा निर्यातमा भएको यो नयाँ उपलब्धिलाई अर्थतन्त्रका लागि महत्त्वपूर्ण कदमको रूपमा लिइएको छ ।






























