सरकारले फेरि एकपटक नेपाल विद्युत् प्राधिकरण (NEA) को नेतृत्वमा परिवर्तन गरेको छ। कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गर्दै प्राधिकरणकै पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई नयाँ कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।
यसअघि गत चैत ११ गते मन्त्रिपरिषद्को निर्णयअनुसार तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गरिएको थियो। तर, ऊर्जा मन्त्रीका रूपमा घिसिङ सरकारमा फर्किएपछि पाँच महिनामै शाक्यलाई सरुवा गरी आफ्ना नजिकका सहयोगी मानिने मनोज सिलवाललाई नेतृत्व सुम्पिएका हुन्।
मनोज सिलवाल, कुलमान घिसिङको कार्यकालमा प्राधिकरणभित्र महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने व्यक्तिका रूपमा चिनिन्छन्।
यो फेरबदललाई ऊर्जा क्षेत्रमा घिसिङको प्रभाव र रणनीतिक सोचसँग जोडेर हेरिएको छ। प्राधिकरणको आगामी नीतिगत दिशा, आयोजना सञ्चालन र ऊर्जा व्यवस्थापनमा यसले नयाँ प्रभाव पार्ने अनुमान गरिएको छ।
































