काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाईनमार्फत विद्युत् सेवा लिने उपभोक्ताहरूलाई बक्यौता विद्युत् महसुल २१ कार्यदिनभित्र भुक्तान गर्न सूचना जारी गरेको छ।
प्राधिकरणले आजको सूचनामा यसअघि पुनरावलोकन अन्तर्गत रहेका सम्पूर्ण काम कारबाहीहरू खारेज गरिएको समेत उल्लेख गरेको छ। सूचनाअनुसार, भुक्तानी २०८२–०७–१७ गते भित्र सम्पन्न गर्नुपर्नेछ।
मासिक किस्ताबन्दीमा रकम तिर्न इच्छुक उपभोक्ताहरूलाई अधिकतम २८ महिनासम्म किस्ताबन्दीको सुविधा उपलब्ध गराइने व्यवस्था गरिएको छ। प्राधिकरणले तोकिएको समयसीमाभित्र बक्यौता महसुल भुक्तान नगरेका उपभोक्तामाथि विद्युत् महसुल सङ्कलन विनियमावली, २०७८ बमोजिम कारबाही हुने चेतावनी दिएको छ ।

































