काठमाडौं । भारतले नेपाललाई आगामी डिसेम्बर ३१ सम्म दैनिक १८ घण्टासम्म ६५४ मेगावाट विद्युत् आयात गर्न अनुमति दिएको छ। भारतको विद्युत् मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरी यस्तो व्यवस्था गरेको हो।
भारतीय प्रेस सूचना ब्युरो (पिआइबी)का अनुसार मध्यरात १२ बजेदेखि साँझ ६ बजेसम्म मुजफ्फरपुर–ढल्केबर ४०० केभी प्रसारणलाइनमार्फत अधिकतम ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारणलाइनमार्फत ५४ मेगावाटसम्म विद्युत् आयात गर्न सकिनेछ।
तर, साँझ ६ बजेदेखि मध्यरातसम्मको पिक आवरमा भने भारतबाट विद्युत् आयात गर्न पाइने छैन।
हाल नेपालले भारततर्फ दैनिक औसत ८०० मेगावाट विद्युत् निर्यात गरिरहेको छ। यद्यपि, हालैको बाढीका कारण ४३१ मेगावाट क्षमताका १२ वटा जलविद्युत् आयोजना बन्द भएपछि आगामी हिउँदमा नेपाल विद्युत् आयातमा निर्भर हुनुपर्ने अवस्था आउन सक्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार अहिले नेपाल विद्युत् आयातभन्दा निर्यातकै अवस्थामा रहेकाले भारतबाट प्राप्त स्वीकृति तत्काल ठूलो परिमाणमा प्रयोग नहुन सक्छ। तर, कुनै आयोजना वा प्रसारणलाइनमा आकस्मिक समस्या आएमा भारतबाट विद्युत् आयात गर्ने अनुमति प्रणालीको विश्वसनीयता कायम गर्न उपयोगी हुने उनको भनाइ छ।
यसैबीच, बाढीका कारण विद्युत् स्रोत आयोजना बन्द भएपछि नेपालबाट बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यातसमेत रोकिएको छ। प्राधिकरणले काबेली बी–१ र ठुलो खोला जलविद्युत् आयोजनालाई नयाँ स्रोतका रूपमा प्रस्ताव गर्दै भारतसँग विद्युत् निर्यातको अनुमति मागेको भए पनि हालसम्म स्वीकृति प्राप्त भएको छैन।
प्राधिकरणले भने नयाँ स्रोतबाट विद्युत् निर्यातका लागि भारतबाट छिट्टै सहमति प्राप्त हुने अपेक्षा गरेको छ।

































