काठमाडौं । भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा कार्यरत २०४ जना विदेशी कामदार सम्पर्कविहीन भएका छन्। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार यो संख्या वैध श्रम स्वीकृति लिएका विदेशी कामदारको मात्रै हो।
बाढी प्रभावित १२ जलविद्युत् आयोजनामा नेपाली तथा विदेशी गरी कुल ८९८ जना कर्मचारी सम्पर्कविहीन रहेको विभागको विवरण छ।
सम्पर्कविहीन विदेशीमध्ये सबैभन्दा धेरै चिनियाँ नागरिक छन्।
डोसान इनर्जीअन्तर्गत अपर त्रिशूली–१ मा कार्यरत २६ विदेशीमध्ये २३ जना, नीलकण्ठ नमुना माध्यमिक विद्यालय निर्माणमा संलग्न १९ जना तथा सल्ला सुङ्गे पावरमा कार्यरत १२ जना विदेशी पनि सम्पर्कविहीन छन्। रसुवा भोटेकोशी आयोजनाका ११ चिनियाँ कामदारको अवस्था पनि अज्ञात छ।
विभागका प्रवक्ता मणिनाथ गोपका अनुसार श्रम स्वीकृति नवीकरणको प्रक्रियामा रहेका वा जरिवाना तिरेर काम गरिरहेका विदेशीको विवरण सरकारी अभिलेखमा समावेश छैन। त्यसैले वास्तविक सम्पर्कविहीन विदेशी कामदारको संख्या २०४ भन्दा बढी हुन सक्ने विभागले जनाएको छ।
बाढीले जलविद्युत् आयोजनाका संरचना र पहुँचमार्गमा ठूलो क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा रहेका कामदारको खोजी तथा अवस्थाबारे जानकारी संकलन भइरहेको छ।

































