काठमाडौं । भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले दुःख व्यक्त गरेको छ। बाढीले मानव बस्ती, जलविद्युत् आयोजना, सडक, पुल तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्याएको इप्पानले जनाएको छ।
इप्पानका अनुसार त्रिशूली तथा भोटेकोशी नदी बेसिनमा सञ्चालनमा रहेका तथा निर्माणाधीन दर्जनौँ जलविद्युत् आयोजनामा प्रारम्भिक रूपमा ठूलो क्षति भएको छ। नदी किनार तथा बाढी प्रभावित क्षेत्रमा रहेका आयोजनाका बाँध, हेडवर्क्स, विद्युत् गृह, पहुँचमार्ग, प्रसारण संरचना, निर्माण सामग्रीलगायत भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको संस्थाले जनाएको छ।
प्राप्त विवरणअनुसार रसुवामा सञ्चालनमा रहेका करिब २३६ मेगावाट क्षमताका पाँच जलविद्युत् आयोजना तथा निर्माणाधीन करिब ३४२.४२ मेगावाट क्षमताका तीन आयोजनामा क्षति पुगेको अनुमान गरिएको छ।
त्यस्तै, नुवाकोटमा सञ्चालनमा रहेका करिब १२३ मेगावाट क्षमताका चार आयोजना तथा निर्माणाधीन करिब ५२.६ मेगावाट क्षमताका दुई आयोजनामा समेत क्षति पुगेको प्रारम्भिक विवरण इप्पानले सार्वजनिक गरेको छ।
इप्पानका अनुसार माथिल्लो त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा पुगेको क्षतिका कारण आयोजनाको भौतिक संरचनामा प्रत्यक्ष ठूलो क्षति नपुगेका कतिपय आयोजना पनि राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएका छन्।
संस्थाले बाढी प्रभावित क्षेत्रमा कार्यरत तथा फसेका कामदार, कर्मचारी र प्राविधिकको तत्काल खोजी, उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरणलाई पहिलो प्राथमिकता दिन सरकार तथा सुरक्षा निकायसँग आग्रह गरेको छ। नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय प्रशासन तथा सम्बन्धित निकायलाई उद्धार कार्यलाई तीव्र बनाउन इप्पानले अनुरोध गरेको छ।
साथै प्रभावित आयोजनाका प्रवर्द्धक कम्पनी तथा निजी क्षेत्रका ऊर्जा उद्यमीलाई आफ्ना स्रोत, जनशक्ति, उपकरण र साधन परिचालन गरी उद्धार तथा राहत कार्यमा सक्रिय हुन पनि इप्पानले आग्रह गरेको छ।
इप्पानले निजी क्षेत्रका छाता संगठन, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, निर्माण व्यवसायी, ऊर्जा क्षेत्रका कम्पनी तथा अन्य व्यावसायिक प्रतिष्ठानलाई समेत बाढी प्रभावित नागरिक र जलविद्युत् आयोजनाको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्न आह्वान गरेको छ।
बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजना तथा प्रसारण संरचनाको शीघ्र क्षति मूल्यांकन गरी पुनर्निर्माण तथा विद्युत् प्रणालीमा पुनः जोड्ने कार्यलाई राष्ट्रिय प्राथमिकता दिन सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभागलगायत सम्बन्धित निकायसँग इप्पानले माग गरेको छ।
त्यसैगरी, क्षतिग्रस्त आयोजनाको पुनर्निर्माणका लागि आवश्यक नीतिगत सहजीकरण, वित्तीय तथा प्राविधिक सहयोग, बीमा दाबी प्रक्रियामा सहजीकरण तथा प्रसारण पूर्वाधारको शीघ्र पुनर्निर्माण गर्नसमेत संस्थाले आग्रह गरेको छ।
इप्पानले बाढीबाट प्रभावित जलविद्युत् आयोजनाको क्षतिको विस्तृत विवरण संकलन तथा अभिलेखीकरण गर्ने जनाएको छ। तत्कालीन उद्धारदेखि दीर्घकालीन पुनर्निर्माणसम्म सरकार, सुरक्षा निकाय, निजी क्षेत्र, स्थानीय समुदाय तथा अन्य सरोकारवालाबीच प्रभावकारी समन्वय आवश्यक रहेको इप्पानको भनाइ छ।
इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। उनले बेपत्ता नागरिक तथा कामदारको शीघ्र सकुशल उद्धार र घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

































