काठमाडौँ । साहस ऊर्जा कम्पनी लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ९० करोड २७ लाख खुद नाफा कमाएको छ।
यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ११४.७५ प्रतिशतले बढी हो ।
चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको बिद्युत् बिक्री आम्दानी समेत ८.१९ प्रतिशतले बढेर २ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। कम्पनीको रिजर्भ तथा सञ्चित मुनाफा हाल ३ अर्ब १६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको २ अर्ब ५६ करोड रुपैयाँभन्दा वृद्धि भएको हो।
३ अर्ब ७८ करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको कुल चालु सम्पत्ति ९७ करोड ९९ लाख रुपैयाँ र कुल चालु दायित्व १ अर्ब ८७ करोड रुपैयाँ रहेको कम्पनीद्वारा जारी वित्तीय विवरणमा उल्लेख गरिएको छ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपिएस) बढेर २३ रुपैयाँ ८८ पैसा पुगेको छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ रहेको छ ।


































