नयाँ दिल्ली । ठूलो स्टारकास्टबिनै निर्माण भएको फिल्म ‘हनुमान अंश’ले भारतीय बक्स अफिसमा अप्रत्याशित सफलता हासिल गरिरहेको छ । करिब २ करोड भारतीय रुपैयाँको बजेटमा बनेको फिल्मले प्रदर्शनको ३७औँ दिनसम्म विश्वभर २३६.५० करोड रुपैयाँको ग्रस कलेक्सन गरेको छ ।
फिल्मले प्रदर्शनको लामो समयपछि पनि कमाइको गति कायम राखेको छ ।
यससँगै भारतमा फिल्मको कुल ग्रस कलेक्सन २२७ करोड भारु पुगेको छ भने नेट कलेक्सन १९२ करोड १३ लाख भारु पुगेको रिपोर्टमा उल्लेख छ ।
फिल्मले विदेशमा पनि राम्रो प्रदर्शन गरिरहेको छ । ३७औँ दिन विदेशबाट मात्रै ५ करोड भारु कमाएको फिल्मको हालसम्मको ओभरसिज ग्रस कलेक्सन ९ करोड ५० लाख भारु पुगेको छ ।
भारत र विदेशको कमाइ जोड्दा फिल्मको विश्वव्यापी ग्रस कलेक्सन २३६.५० करोड भारु पुगेको छ । प्रदर्शनको ३७औँ दिनसम्म आइपुग्दा पनि फिल्मले उल्लेख्य कमाइ गरिरहेकाले अब छिट्टै २५० करोड भारुको आँकडा पार गर्ने अनुमान गरिएको छ ।
नीम करौली बाबाको जीवनबाट प्रेरित कथामा आधारित ‘हनुमान अंश’ले अपेक्षाभन्दा निकै ठूलो व्यावसायिक सफलता हासिल गरेको हो । सीमित बजेट र ठूलो स्टारकास्ट नरहे पनि दर्शकको सकारात्मक प्रतिक्रियाका कारण फिल्मले बक्स अफिसमा निरन्तर गति कायम राखेको छ ।


































