काठमाडौं । बेनी हाइड्रोपावर लिमिटेडको आईपीओमा पहिलो दिनमै लगानीकर्ताको उत्साहजनक सहभागिता देखिएको छ । निष्कासन गरिएको सेयरको मागभन्दा झण्डै ९ गुणा बढी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार पहिलो दिन साँझ ५ बजेसम्म कम्पनीको आईपीओमा ६ लाख ६४ हजार ७० जना लगानीकर्ताले आवेदन दिएका छन् । उनीहरूले ७७ लाख ६ हजार २१० कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले २०८२ माघ २९ गते प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
कम्पनीले सर्वसाधारणका लागि छुट्याएको सेयरमध्ये २ प्रतिशत अर्थात् २० हजार ८ सय कित्ता कर्मचारीका लागि, ५ प्रतिशत अर्थात् ५२ हजार कित्ता सामूहिक लगानी कोषका लागि र १० प्रतिशत अर्थात् १ लाख ४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएको थियो । त्यस्तै, जारी पुँजीको १० प्रतिशत अर्थात् १० लाख ४० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी तथा बाँडफाँट गरिसकेपछि बाँकी सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।
सर्वसाधारणले कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा आवेदन दिने अन्तिम मिति छिटोमा भदौ २६ गते र ढिलोमा असोज ५ गतेसम्म रहेको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयरमार्फत पनि आईपीओमा आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले सम्हालेको छ ।

































