काठमाडौं । जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी अघि बढाएको छ। कम्पनीले आफ्नो पहिलो वार्षिक साधारण सभामार्फत उक्त प्रस्ताव पारित गर्ने योजना बनाएको हो।
कम्पनीको सञ्चालक समितिको असार ९ गते बसेको बैठकले असार २६ गते बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको जनाएको छ।
सभामा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सम्बन्धी प्रस्तावका साथै आईपीओ प्रक्रिया अघि बढाउन आवश्यक पूँजी संरचना पुनःनिर्धारण गर्ने विषयमा छलफल गरी निर्णय गरिनेछ।
यसका अतिरिक्त कम्पनीको नियमावली संशोधन गर्ने प्रस्ताव पनि एजेन्डामा समावेश गरिएको छ। साथै विभिन्न संस्थागत लगानीकर्ताबाट प्राप्त लगानी प्रस्तावमाथि पनि छलफल गरी आवश्यक निर्णय लिने तयारी कम्पनीले गरेको छ।





































