काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–१२, बखरीमा रहेको निप्पोन फर्मास्युटिकल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले नियमनकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि आईपीओ निष्कासन गर्ने जनाएको छ।
कम्पनीले आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। यससम्बन्धी सम्झौतामा निप्पोन फर्मास्युटिकलका प्रबन्ध निर्देशक मन्टु घिमिरे र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्।
कम्पनीका अनुसार आईपीओ निष्कासन विद्यमान धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियमावली तथा धितोपत्र निष्कासन तथा बाँडफाँटसम्बन्धी निर्देशिकामा भएको व्यवस्थाअनुसार हुनेछ। आईपीओ निष्कासनको मिति तथा शेयर संख्या भने आवश्यक नियामकीय स्वीकृतिपछि तय हुनेछ।
निप्पोन फर्मास्युटिकल विभिन्न प्रकारका औषधि उत्पादन गर्दै आएको फर्मास्युटिकल कम्पनी हो। कम्पनीले विश्व स्वास्थ्य संगठनको राम्रो उत्पादन अभ्यास (WHO-GMP) तथा अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डअनुसार ट्याबलेट, क्याप्सुल, तरल औषधि, मलम, क्रिम, जेल, ओआरएस, ड्राइ सिरप तथा पेनिसिलिनलगायत औषधि उत्पादन गर्दै आएको जनाएको छ।
कम्पनीको विधिवत् दर्ता सन् २००६ मा भएको थियो भने उद्योग स्थापना सन् २०१७ मा भएको हो। कम्पनीले सन् २०२२ देखि व्यावसायिक उत्पादन तथा बजारीकरण सुरु गरेको जनाएको छ।
व्यावसायिक उत्पादन सुरु गरेको चार वर्षको अवधिमा कम्पनीले विभिन्न थेराप्युटिक सेगमेन्टका ६० भन्दा बढी उत्पादन बजारमा ल्याइसकेको जनाएको छ। कम्पनीले औषधिको विविध उत्पादन पोर्टफोलियोमार्फत नेपाली औषधि बजारको माग पूरा गर्न योगदान पुर्याउँदै आएको दाबी गरेको छ।
‘Wellbeing for All’ अर्थात् ‘सबैका लागि सु–स्वास्थ्य’ भन्ने मूल नारासहित अघि बढिरहेको कम्पनीले नेपाललाई आवश्यक पर्ने अधिकांश औषधिमा आत्मनिर्भर बनाउन सहयोग गर्ने लक्ष्य लिएको जनाएको छ।
































